इन्धनको मूल्य नघटेकोमा कांग्रेसको असन्तुष्टि : आयल निगमको जवाफमाथि प्रश्न

इन्धनको मूल्य नघटेकोमा कांग्रेसको असन्तुष्टि : आयल निगमको जवाफमाथि प्रश्न

काठमाडौं : नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा पनि नेपालमा इन्धन मूल्य नघटेको असन्तुष्टि जनाएको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत नेपाली उपभोक्ताले पुरानै मूल्यमा इन्धन किन्नुपर्ने अवस्था रहनु दुखद भनेका छन्। 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चतम बिन्दु प्रतिब्यारेल ११७.६३ डलरबाट घटेर ६९.२१ डलरमा झरिसक्दा समेत नेपाली बजारमा मूल्य समायोजन नगरिएको भन्दै उनले प्रश्न उठाए। पौडेलले कच्चा तेलको मूल्यमा करिब ३० प्रतिशतले घट्दा पनि नेपालमा मूल्य नघटेकोमा असन्तुष्टि व्यक्त गरे।

"नेपाली उपभोक्ताले भने अझै पुरानै महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहनु निकै दुःखद छ," पौडेलले भने, "अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आम नागरिकले सहजै पाउनुपर्ने होइन र?"

मूल्य नघटेको जनगुनासो आइरहेको बेलामा आयल निगमले प्रशोधित तेल किन्ने भएकाले तुरुन्तै मूल्य घट्दैन भनी दिएको तर्कलाई पौडेलले बहानाको संज्ञा दिए। उनले भने, "कच्चा र प्रशोधित तेलको मूल्य समायोजनमा प्रशोधन खर्च र केही दिनको समय अन्तर अवश्य पर्छ। तर, कच्चा तेलको मूल्यमा आएको यति ठूलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा पक्कै घटाउँछ।"

निगमले वास्तविक सूचना लुकाएको र पारदर्शी नभएर उपभोक्तालाई मारमा पारेको उनको आरोप छ। सरकार र निगमभित्रको सुशासनको अभाव, व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लङ्ग पारेको पौडेलको दाबी छ। 

स्वचालित मूल्य प्रणालीको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै उनले प्रश्न गरे, "नियमित १५/१५ दिनमा आउने नयाँ मूल्य सूची अनुसार स्वचालित मूल्य प्रणाली लागू गरी मूल्य बढाउने र घटाउने दुवै काम सहज रूपमा गर्नुपर्ने हो। भाउ बढ्ने बेलामा तुरुन्तै लागू हुने, घट्ने बेलामा चाहिँ लागु नहुने। घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर साथ दिने, अनि सस्तो हुँदा चाहिँ राहत नपाउने ?"

असार ११, २०८३ बिहीबार १६:१७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।