प्रवासको मतदान प्रक्रियाबारे रास्वपामा फेरि विवाद, रोकियो मतदान
चितवन : प्रवासबाट मोबाइलबाट मतदान गर्ने विषयमा विवाद भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको निर्वाचन पुन रोकिएको छ। प्रवासका महाधिवेशन प्रतिनिधिहरूले मोबाइल एपबाटै केन्द्रीय समितिका लागि मतदान गराउने तयारी सुरु भए लगत्तै प्रदेशका सभापतिहरूले असहमति जनाएका हुन्।
रास्वपाको पहिलो महाधिवेशनमा १ सय ६३ प्रवासका महाधिवेशन प्रतिनिधि रहेको निर्वाचन समितिको दाबी छ। विधानमा प्रवास कमिटीका प्रतिनिधिहरूले विदेशबाटै मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था छ। तर प्रदेश सभापतिहरूले यसमा असहमति जनाएपछि मतदान प्रक्रिया अगाडि बढाउन सकेको छैन।
पार्टीका सात प्रदेश सभापतिहरूले मोबाइल एपबाट हुने मतदानको निष्पक्षतामाथि प्रश्न उठाएर असहमति जनाएका हुन्। केन्द्रीय समितिका लागि महाधिवेशनमा उपस्थित महाधिवेशन प्रतिनिधिको मतदान सकिएपछि प्रवासका महाधिवेशन प्रतिनिधिको मतदान प्रक्रिया अगाडि बढाउने र दुवै सकिएपछि मत गणनाको तयारी भएको थियो। तर प्रवासको कमिटीको मतदान प्रक्रियामा असन्तुष्टि जनाएपछि मतदानको प्रक्रिया नै रोकिएको छ।
रास्वपाले पहिलो महाधिवेशनमा पदाधिकारीमा सभापति र कुल केन्द्रीय सदस्यमध्ये ९९ जना केन्द्रीय सदस्य पदका लागि निर्वाचन गरेको हो। प्रारम्भमा चार हजार बढी महाधिवेशन प्रतिनिधि रहेको बताइए पनि निर्वाचन समितिले कुल महाधिवेशन प्रतिनिधिको संख्या सार्वजनिक गरेको छैन। बुधवार बेलुका १ बजेबाट सुरु भएर बिहीबार दिउस १२ बजे सकिएको निर्वाचनमा २ हजार ९ सय ५९ जनाले मतदान गरेको निर्वाचन समितिले बताएको छ।
यो तथ्यांकले पनि एक हजार बढी महाधिवेशन प्रतिनिधिहरू मतदान प्रक्रियामा संलग्न नभएको देखिन्छ। केन्द्रीय समितिको निर्वाचनको मत परिणामपछि दोस्रो चरणको निर्वाचनमा उपाध्यक्ष, महामन्त्री,सह-महामन्त्रीको निर्वाचनको कार्यतालिका रहेको छ।
असार ११, २०८३ बिहीबार १६:०७:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।