'नो भोट'को नारा बोकेको रास्वपाकै चुनावमा छैन नो भोट : महाधिवेशन प्रतिनिधि असन्तुष्ट
काठमाडौं : जान्नेलाई छान्ने, ‘राइट टु रिकल’ र ‘नो भोट’ जस्ता मुद्दालाई जोडबलका साथ उठाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी पहिलो महाधिवेशनमा भने ‘नो भोट’ को व्यवस्था गरिएको छैन।
चितवनमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदानमा उक्त विकल्प नहुँदा प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
आफैले उठाएका मुद्दाहरूलाई पार्टीको आन्तरिक निर्वाचनमा पनि लागू गरिने अपेक्षा गरिए पनि नो भोटको कुनै प्रावधान राखिएन। विद्युतीय मतदान (ई-भोटिङ) प्रणालीमार्फत भइरहेको निर्वाचनमा मतदाताले आफूलाई मन नपर्ने उम्मेदवारलाई अस्वीकार गर्ने वा खाली छोड्ने सुविधासमेत पाएनन्।
मतदान प्रणालीमा खुलातर्फका ६४ जना र क्लस्टरअनुसारका सदस्यका लागि तोकिएको सङ्ख्यामा अनिवार्य मत दिएपछि मात्र प्रणाली अगाडि बढ्ने व्यवस्था मिलाइएकोमा प्रतिनिधिहरूको गुनासो छ। यसले गर्दा नचिनेका उम्मेदवारलाई पनि अनिवार्य मत दिनुपर्ने बाध्यता आइलागेको उनीहरूले भनेका छन्।
यसरी आफैले उठाएका मुद्दा आफ्नै आन्तरिक निर्वाचनमा कार्यान्वयन नगरीपछि प्रतिनिधिहरूले आलोचना गर्न थालेका छन्। प्रतिनिधि सभा सदस्य एवं केन्द्रीय सदस्यका उम्मेदवार राजीव खत्रीले मतदान प्रणालीप्रति सार्वजनिक रूपमै असन्तुष्टि पोखे।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, "संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ, नो भोटको धज्जी।"
त्यस्तै, डेनमार्कबाट सहभागी हुन आएका प्रतिनिधि शशी ढकालले पनि मतदान प्रक्रिया प्राविधिक रूपमा सहज भएता पनि छनोटको विकल्प साँघुरो पारिएको बताए। उनले भने, "नो भोटको सिस्टम छैन। कसैलाई म हाल्दिनँ भन्दा पनि त्यो कम्प्युटर चाहिँ त्यसपछि स्क्रोल नै नहुने रहेछ। त्यसले गर्दा त्यहाँ तोकिएको सङ्ख्यामा तोकिएको उम्मेदवारहरूलाई भोट हाल्नै पर्ने नै देखिएको छ।"
ढकालका अनुसार उम्मेदवारको फोटो नहुनु र धेरै सङ्ख्यामा अनिवार्य मतदान गर्नुपर्ने भएकाले चर्चित नाम वा सेलिब्रेटीहरूले मात्रै लाभ पाउने सम्भावना देखिएको छ। उनले थपे, "६४ जनाको नाम त अलि सम्झिन गाह्रै होला। त्यसले गर्दाखेरि यो सेलिब्रेटी नामले जित्ने, ठूला नामले जित्ने त्यो चाहिँ देखियो। हैन, अब नचिनेको नामलाई दिने कुरा भएन।"
मतदान व्यवस्थापनप्रति असन्तुष्टि जनाउने उनीहरू दुई जना मात्र होइन, ठूलो संख्यामा प्रतिनिधिहरू रहेका छन्। कतिपय प्रदेशका नचिनेका उम्मेदवारहरूलाई मत हाल्दा गलत व्यक्ति चुनिने भय रास्वपाका महाधिवेशन प्रतिनिधिहरूले व्यक्त गरेका छन्।
असार ११, २०८३ बिहीबार १५:३१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।