"१२ वर्षको मिहिनेत खेर गयो" भन्दै कक्षा १२ का विद्यार्थी आन्दोलित, शिक्षा मन्त्रालयद्वारा त्रुटि अस्वीकार

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरू आन्दोलित भएका छन्। 

कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरुले बिहीबार काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। 

छिटो नतिजा सार्वजनिक गर्ने होडबाजीमा बोर्डले गम्भीर लापरबाही गरेको र त्यसको प्रत्यक्ष असर आफ्नो भविष्यमा परेको विद्यार्थीहरूको आरोप छ। रिटोटलिङ र रिचेकिङको शुल्कसमेत अत्यन्त महँगो र अव्यवहारिक भएको उनीहरुको भनाई छ। 

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा भएको त्रुटिको निष्पक्ष छानबिन, रिटोटलिङ र पुनर्परीक्षण निःशुल्क र प्रभावकारी बनाइनुपर्ने तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता हुनुपर्ने माग राखेका छन्। 

"१२ वर्षको मिहिनेत खेर जाँदा जिम्मेवार को? हाम्रो भविष्य बर्बाद भयो, हामी न्याय खोज्न कहाँ जाने?" जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका थिए।

प्रदर्शनमा सहभागीहरूले यो विवाद केवल अङ्कको मात्र नभई हजारौँ विद्यार्थीको भविष्यको सवाल भएको बताएका छन्। आफ्ना मागहरू तत्काल सुनुवाइ नभए थप सशक्त आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी समेत उनीहरूले दिएका छन्।

शिक्षा मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा कुनै पनि किसिमको त्रुटि नभएको स्पष्ट  पारीसकेको छ।

असार ११, २०८३ बिहीबार १३:१२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।