श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् रौतहटमा पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् रौतहटमा पक्राउ

रौतहट : आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।

हत्या गरी फरार रहेका रौतहट फतुवा विजयपुर नगरपालिका वडा नम्बर -६ पेटभर्वा टोल बस्ने ४२ वर्षीय महन्थ राय यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यादवले गत जेठ ३ गते आफ्नै सुत्ने कोठामा ३२ वर्षीया श्रीमती आरती देवी यादवलाई धारिलो हतियार (बन्चरो) प्रयोग गरी हत्या गरेका थिए। हत्या गरे लगत्तै उनी फरार भएका थिए।

घटना घटेदेखि नै प्रहरीले उनको निरन्तर खोजतलास गरिरहेको थियो। प्राविधिक विश्लेषण समेतका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र मातहत इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ विजयपुरबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जानकारी दिए।

असार ११, २०८३ बिहीबार १०:२९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।