'स्मार्ट' गफ, भद्रगोल महाधिवेशन : रास्वपाको पनि पुरानै दल शैली
चितवन : विवादरहित रुपमा तीन दिनमा भब्य रुपमा पहिलो महाधिवेशन सम्पन्न गर्ने लक्ष्य बोकेर चितवन झरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुका लागि पहिलो महाधिवेशन सोचे जस्तो सहज भएन। मुसलधारे पानी परे पनि उद्घाटन शत्र सोचे जस्तै सफल भयो। कतै वरिष्ठ नेता नै महाधिवेशनमा सहभागी नहुने हो कि भन्ने शंसयकाबीच प्रधानमन्त्री समेत रहेका वालेन्द्र शाह तीन दिन चितवन गएर बसे।
उद्घाटन शत्र त सम्पन्न भयो। तर जब बन्द शत्र र निर्वाचनको चरण सुरु भयो अनि सँगै भद्रगोल सुरु भयो। नेपाली कांग्रेस अनि एमालेको विगतका महाधिवेशन देखाउँदै आफ्नो महाधिवेशन त्यस्तो नहुने अनि स्मार्ट तरिकाले सहजै सकिने दाबी गरेका नेताहरू नै पछि पहिलो पटक भएकाले अनुभव भएन त्यसैले अलि अव्यवस्थित हुन गयो भनेर स्विकार्न थाले।
महाधिवेशनको सबैभन्दा महत्वपूर्ण पक्ष हो महाधिवेशन प्रतिनिधि जसले भावी पाँच वर्षका लागि पार्टीको महाधिवेशन चयन गर्छन्। तर राप्रपामा सबैभन्दा ठूलो भद्रगोल नै महाधिवेशन प्रतिनिधीहरुको विषयमा भयो। प्रारम्भमा करिब चार हजार महाधिवेशन प्रतिनिधि हुने भनियो। तर सूची सार्वजनिक भएसँगै असन्तुष्टि चुलियो। वरिष्ठ नेता शाहको नाम समेत महाधिवेशन प्रतिनिधिको सूचीमा देखिएन।
त्यसपछि सुरु भयो दाबी अनि विरोधको श्रृंखला। दाबी विरोधका कारण असार ८ गते गर्ने भनिएको बन्द शत्र नै सुरु हुन सकेन। बन्द शत्र अर्को दिन सारियो। तर अर्को दिन पनि सहजै बन्द शत्र हुन सकेन। महाधिवेशन प्रतिनिधिकै विवादमा ढिलै भए पनि बन्द शत्र त भयो तर फास्टट्रयाकमा। पार्टी उपसभापति देखि सभापतिसम्मले पेस गरेको प्रतिवेदनहरूमा महाधिवेशन प्रतिनिधीहरुले बहसै गर्न पाएनन्।
उनीहरूले मञ्चमा गएर खरर पढे। पढेपछि ती प्रतिवेदनमा सहभागी महाधिवेशन प्रतिनिधीहरुबाट प्रतिक्रिया लिएर परिमार्जन गर्नेतिर नलागी सिधै प्रस्ताव गरेर पारित गराइयो। त्यो हतारोको कारण निर्वाचन नै थियो। मंगलबार निर्वाचन प्रक्रिया पनि सुरु भयो। तर सभापतिको मात्र मनोनयन भयो। सभापतिमा रवि लामिछानेको मात्र उम्मेदवारी परेकाले उनी सर्वसम्मत भए। तर केन्द्रीय सदस्यहरूको निर्वाचन अगाडि बढ्न सकेन।
सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गरेर त्यसपछि पदाधिकारीको निर्वाचन हुने विधानको प्रावधान अनुसार बुधवार केन्द्रीय सदस्यहरूको निर्वाचनको कार्यतालिका सार्वजनिक भयो। तर मनोनयनको काम बल्ल बल्ल दिउसोतिर सकियो। मनोनयनको काम सकिदा पनि महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लागेको थिएन।
निर्वाचन समितिले निर्वाचित हुने ९९ जना केन्द्रीय सदस्यका लागि करिब ३ सय ८२ जनाको उम्मेदवारी परेको प्रारम्भिक सूची सार्वजनिक गर्यो। केही नाम फिर्ता पनि लिए। तर अन्तिममा कति संख्या कायम भयो सार्वजनिक भएन। मतदान गर्ने महाधिवेशन प्रतिनिधिको संख्या कति पुग्यो त्यो पनि सार्वजनिक भएको छैन।
मतदान हुन्छ हुन्छ भन्दै मध्यरात पुगेर साढे १० बजेबाट मतदान सुरु हुने र त्योक्रम बिहीबार ११ बजेसम्म जारी रहने सूचना जारी भयो। तर भएन।
मतदान सकिएको चार घण्टामा नतिजा आउने दाबी गरिएको छ। तर उम्मेदवार सङ्ख्याका आधारमा त्यो त्यति सहज देखिन्न। केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएपछि पुन पदाधिकारीहरुको निर्वाचन त बाँकी नै छ। यसबाट अन्य दलको महाधिवेशनको व्यवस्थापनप्रति आलोचना र खिसी गर्ने रास्वपाका नेता कार्यकर्ताहरूले आफ्नो पहिलो महाधिवेशनबाट पक्कै अनुभव गरे होलान्' आलोचना जस्तै आफैँ सहजै महाधिवेशन गर्न कहाँ सहज हुने रहेछ र।'
असार १०, २०८३ बुधबार २३:५५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।