भक्तपुरका तीन स्थानीय तहको बजेटमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड

भक्तपुरका तीन स्थानीय तहको बजेटमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड

भक्तपुर : भक्तपुरका तीनवटा नगरपालिका सूर्यविनायक, भक्तपुर र चाँगुनारायणले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। तीनवटै स्थानीय तहले ६ अर्ब ८५ करोड भन्दा बढीको बजेट ल्याएका हुन्।

सूर्यविनायकले पुँजीगत (विकास) खर्चमा बढी जोड दिएको देखिन्छ भने भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य जस्ता सामाजिक क्षेत्रलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ। चाँगुनारायण नगरपालिकाले भने आन्तरिक आयका लागि घरजग्गा रजिस्ट्रेसन र राजस्व सङ्कलनलाई मुख्य आधार बनाएको छ।

सूर्यविनायक नगरपालिका : २ अर्ब २६ करोडको बजेट पारित

सूर्यविनायक नगरपालिकाको २० औँ नगरसभा अधिवेशनले आगामी आर्थिक वर्षका लागि २ अर्ब २६ करोडको बजेट पारित गरेको छ।

नगर प्रमुख वासुदेव थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख सरिता तिम्सिना भट्टराईले प्रस्तुत गरेको बजेट सभाले पारित गरेको हो।

बजेटमा पुँजीगत खर्चतर्फ ५७.१४ प्रतिशत (रु १ अर्ब २९ करोड १४ लाख १८ हजार) छुट्याइएको छ। चालु खर्चतर्फ ४२.८५ प्रतिशत (रु ९६ करोड ८५ लाख ८२ हजार) विनियोजन गरियो।

आम्दानीका स्रोतहरूमा संघीय सरकारको अनुदान तथा राजस्व बाँडफाँट ६९ करोड ३१ हजार ३ सय १६ रहेको छ। प्रदेश सरकारबाट अनुदान तथा राजस्व बाँडफाँटमा ५९ करोड ६० लाख ९७ हजार राखिएको छ। आन्तरिक स्रोतमा ९७ करोड ३८ लाख ७० हजार रहेको छ।

बजेटमा शहरी पूर्वाधार विस्तार, नगर सौन्दर्य प्रवर्द्धन, आधारभूत स्वास्थ्य सेवा सुदृढीकरण, सामुदायिक शिक्षाको पूर्वाधार विकास, प्राविधिक तथा सीपमूलक तालिम, उद्यमशीलता र सूचना प्रविधिको विस्तारमार्फत सुशासनलाई प्राथमिकता दिइएको छ।

भक्तपुर नगरपालिका : शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता

भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि  २ अर्ब ५५ करोडको बजेट विनियोजन गरेको छ। नगरपालिकाको २० औँ नगरसभा बैठकमा उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गरेका हुन्।

चालु खर्च ६१.१३ प्रतिशत (रु १ अर्ब ५५ करोड ८९ लाख) र पुँजीगत खर्च ३६.६० प्रतिशत (रु ९३ करोड ३१ लाख) राखिएको छ। वित्तीय व्यवस्थामा २.२७ प्रतिशत (रु ५ करोड ८० लाख) विनियोजन गरिएको छ।

शिक्षा क्षेत्रमा कुल बजेटको २२.०६ प्रतिशत (रु ५६ करोड २७ लाख ४० हजार) विनियोजन गरिएको छ भने स्वास्थ्य क्षेत्रमा कुल बजेटको १३.९७ प्रतिशत (रु ३५ करोड ६४ लाख विनियोजन गरिएको छ। यसमा ख्वप अस्पतालको सेवा विस्तार र उपकरण खरिदका लागि मात्र २३ करोड बजेट विनियोजन गरिएको छ।

भौतिक पूर्वाधारमा १३.७२ प्रतिशत (रु ३५ करोड), वातावरण सुधार तथा फोहरमैला व्यवस्थापनमा २३ करोड १५ लाख ८० हजार, सम्पदा पुनर्निर्माण र संस्कृति संरक्षणमा ७ करोड ९० लाख, पर्यटन प्रवर्द्धनमा ३ करोड ८० लाख, खेलकुद विकासमा ३ करोड ७५ लाख र प्रकोप व्यवस्थापन कोषमा ४० लाख विनियोजन गरिएको छ।

चाँगुनारायणको बजेट २ अर्ब ४ करोड

चाँगुनारायण नगरपालिकाको १८ औँ नगरसभामा उपप्रमुख रमेश बुढाथोकीले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ४ करोडको बजेट तथा नीति र कार्यक्रम प्रस्तुत गरे। यो बजेट आगामी असार २८ गते बस्ने अर्को नगरसभा बैठकले पारित गर्ने कार्यतालिका छ।

बजेटमा आन्तरिक आयमा घरजग्गा रजिस्ट्रेसनबाट ८६ करोड, विभिन्न दस्तुरहरूबाट ३४ करोड ६ लाख र सवारीसाधन राजस्वबाट ८ करोड २२ लाख राखिएको छ।

सङ्घीय सरकारबाट वित्तीय समानीकरणबापत १६ करोड ३७ लाख, राजस्व बाँडफाँटबाट १२ करोड ४१ लाख, सशर्त अनुदानमार्फत ५५ लाख र विशेष अनुदानबापत ३ करोड विनियोजन भएकोमा यस आवमा रु १ करोड ५० लाख प्राप्त भएको उल्लेख  छ।

बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ १ करोड ४९ लाख ९७ हजार, सशर्ततर्फ ३ करोड ५१ लाख २५ हजार र विशेष अनुदानतर्फ रु ७० लाख प्राप्त उल्लेख छ।

असार १०, २०८३ बुधबार २२:१३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।