रास्वपा महाधिवेशनमा गुटगत डिजिटल चिट, चुहियो 'बालेन समूह'को उम्मेदवारको नाम
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनि वरिष्ठ नेता वालेन्द्र शाहले पहिलो महाधिवेशनको उद्घाटन शत्रबाटै पार्टीमा गुट नबनाउन चेतावनी दिँदै आए।
सभापति लामिछानेले बन्द शत्रमा पनि नयाँ र पुरानो भनेर समूह नबनाउन चेतावनी दिएका थिए। तीन दिनमा महाधिवेशन सक्ने तयारी गरे पनि महाधिवेशन प्रतिनिधि तय नहुँदा महाधिवेशन थप दुई दिन लम्बियो। कुल सदस्यमध्ये ९९ जना मात्र निर्वाचित हुने केन्द्रीय सदस्यमै साढे तीन सय बढीको उम्मेदवारी पर्यो।
रास्वपा स्थापनाकालदेखि फागुन २१ को निर्वाचन अगाडि प्रवेश गरेको बालेन, विवेकशील लगायतका समूहबाट केन्द्रीय सदस्यमा टन्न उम्मेदवारी परेको छ। नेताहरूले गुट बनाएर निर्वाचनमा प्रतिस्पर्धा नगर्न चेतावनी दिए पनि अधिक उम्मेदवारी परेसँगै समूहगत रूपमा लिस्ट बनेको र आफ्नो समूहलाई भोट हाल्नु भनेर नामहरू आइरहेको एक महाधिवेशन प्रतिनिधिले दाबी गरे।
“अन्य दलको निर्वाचनमा कागजको लिस्ट बन्थे, हाम्रोमा डिजिटल लिस्ट आइरहेका छन्” ती प्रतिनिधिले दाबी गरे।
उकेराले एक सूची समेत पाएको छ जहाँ केन्द्रीय सदस्यको उम्मेदवार बनेका वालेन्द्र समूह निकटहरूको नाम छन्। त्यसमा सुदीप ढकाल,विदुषी राना,सस्मित पोखरेल, राजु पाण्डेदेखि असिम शाह लगायतकाहरुको नाम रहेको छ। सूचिमा रास्वपा स्थापनाकालदेखि नै रहेका नेताहरुको नाम समेत छ।
स्रोतका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा कार्यरतबाटै महाधिवेशन प्रतिनिधीहरुलाई “हाम्रो सूची यो हो” भन्दै भोट हाल्न दबाब आएको हो। सूचीमा भूगोल र क्ल्स्टर नै छुट्याइएको छ।
सचिवालयकै प्रतिनिधी जोडिएपछि हामीले यसबारे बुझ्न सचिवालयमा कार्यरत सुरेन्द्र बजगाईँसँग सम्पर्कको प्रयास गर्यौ। तर उनले कल उठाएनन्।
महाधिवेशन प्रतिनिधीहरुलाई ह्वाट्सएपमा समूहगत उम्मेदवारको नाम पठाएर भोट हाल्न दबाब दिइरहेकोबारे उकेराले पार्टी प्रवक्ता मनिष झासँग कुरा गर्ने प्रयास गरेको थियो। उनले कल काटेर मेसेज गर्न भने। उकेराले सम्पर्क गर्न चाहेको विषय खुलाएर मेसेज पठायो। तर उताबाट थप सन्देश आएन।
असार १०, २०८३ बुधबार २०:१४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।