रास्वपा महाधिवेशन ९९ सदस्यका लागि ३८४ जना उम्मेदवारी, बालेन कोर टिमका सुनिल र भूपदेवले उम्मेदवारी दिएनन्
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीको ९९ जनाको लागि भइरहेको केन्द्रीय सदस्यको निर्वाचनका लागि ३ सय ८४ जनाको उम्मेदवारी परेको छ। चितवनमा जारी निर्वाचनमा प्रारम्भिक रूपमा ३ सय ८४ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। केन्द्रीय सदस्यबाटै पदाधिकारी उम्मेदवार हुने भए पनि प्रधानमन्त्री वालेन्द्र शाहको कोर टिमका दुई सदस्य सुनिल लम्साल र भूपदेव शाहले भने उम्मेदवारी दिएनन्।
लम्साल उपाध्यक्ष र शाह महामन्त्रीको रूपमा चर्चामा छन्। यी दुवैले उम्मेदवारी नदिएकाले सभापतिको मनोनीत कोटामा नियुक्त हुने सम्भावना देखिन्छ।
बालेनकै कोर टिम मानिने शिक्षा मन्त्री सस्मित पोखरेलले भने केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेहरूमा अधिकांश सांसदहरू समेत रहेका छन्। बालेन टिमका सदस्य मानिने केपी खनालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। महामन्त्रीमा उम्मेदवार बन्ने दाबी गरेका कवीन्द्र बुर्लाकोटीदेखि लिएर मनिष झासम्मले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। पूर्व विवेकशील समूहका समीक्षा बास्कोटा, रञ्जु दर्शना र प्रकाश चन्द्र परियारले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिए। यी तीनै सांसद समेत हुन्। विवेकशीलबाट गएका यी तीन जना नै मुख्य नेता हुन्।
खगेन्द्र सुनारदेखि आशिका तामाङसम्मले उम्मेदवारीदिँदा सूचीमा गृहमन्त्री सुधन गुरुङको नाम छैन। उनले महाधिवेशन सुरु भए देखि नै सभापतिबाट केन्द्रमा मनोनीत गर्नेहरूमध्ये ५० प्रतिशत जेनजी प्रतिनिधि हुनुपर्ने माग राख्दै आएका छन्।
असार १०, २०८३ बुधबार १८:०८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।