सस्तो मूल्यमा औषधि बेच्ने बुटवलको फार्मेसीमा प्रहरीको छापा : ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद, सञ्चालक पक्राउ

सस्तो मूल्यमा औषधि बेच्ने बुटवलको फार्मेसीमा प्रहरीको छापा : ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद, सञ्चालक पक्राउ

बुटवल : बिरामी र उनीहरूका आफन्तलाई लक्षित गरी बजार मूल्यभन्दा सस्तोमा औषधि बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले बुटवलमा छापा मारेको छ।

बुटवलको अस्पताल लाइन क्षेत्रमा सञ्चालित सैनामैना फार्मेसी र त्यसको गोदाममा छापा मारी इलाका प्रहरी कार्यालय बुटवलको टोलीले  बिक्रीका लागि राखिएका केही शंकास्पद तथा प्रतिबन्धित औषधि बरामद गरेको हो।

गोदाममा छापा मार्दा केही औषधि शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले सञ्चालक विष्णु जिसीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

बजार मूल्यभन्दा निकै कम दरमा औषधि बिक्री भइरहेको भन्दै विभिन्न क्षेत्रबाट गुनासो र सूचना आएपछि प्रहरीले उक्त फार्मेसीमाथि निगरानी बढाएको थियो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार  प्राप्त सूचना र प्रारम्भिक अनुसन्धानका आधारमा उक्त औषधि पसल र गोदाममा आकस्मिक छापा मारिएको हो।

छापा मार्ने क्रममा श्वासप्रश्वास सम्बन्धी रोगका बिरामीले प्रयोग गर्ने सेरोफ्लो २५० रोटाक्याप्स नामक औषधिसहित अन्य केही औषधि फेला परेको प्रहरीले जनाएको छ। उक्त औषधि दम तथा क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) का बिरामीमा प्रयोग गरिने औषधिमध्ये एक हो।

प्रहरीका अनुसार बरामद औषधिमध्ये केही उत्पादनबारे यसअघि नै सम्बन्धित निकायले सतर्कता जारी गरेको थियो। भारतमा उत्पादन हुने उक्त औषधिको नक्कली संस्करण बजारमा देखिएको भन्दै औषधि व्यवस्था विभागले खरिद–बिक्री नगर्न निर्देशन दिएको थियो।

अनुगमनका क्रममा गोदाम र पसलमा भण्डारण गरिएका केही औषधिको खरिद स्रोत, आयात प्रक्रिया तथा आवश्यक कागजातबारे पनि शंका उत्पन्न भएको प्रहरीले जनाएको छ। बरामद सामग्रीका सम्बन्धमा वैधानिक प्रक्रिया पूरा भए–नभएको र ती औषधि कसरी बजारमा पुगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रहरीले बरामद औषधिको गुणस्तर, उत्पादनको प्रामाणिकता र रासायनिक अवस्थाबारे यकिन गर्न परीक्षणका लागि सम्बन्धित प्रयोगशालामा पठाउने तयारी गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि औषधि ऐन तथा जनस्वास्थ्यसँग सम्बन्धित कानुनी प्रावधानअन्तर्गत मुद्दा अघि बढाइने प्रहरीको भनाइ छ। 

असार १०, २०८३ बुधबार १७:१८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।