बुटवलको बजेट करिब ४ अर्ब, पूर्वाधार विकासलाई प्राथमिकता

बुटवलको बजेट करिब ४ अर्ब, पूर्वाधार विकासलाई प्राथमिकता

बुटवल : बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ४ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

बुधबार आयोजित नगरसभामा उपप्रमुख सावित्रादेवी अर्यालले ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन्।

यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब ६४ करोड रुपैयाँले बढी हो। चालु आर्थिक वर्षका लागि उपमहानगरले ३ अर्ब ३६ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको थियो भने आगामी वर्षका लागि करिब ६४ करोड रुपैयाँ बढीको बजेट प्रस्ताव गरिएको हो।

उपप्रमुख अर्यालले ‘समानता, स्वाभिमान र अवसर : बस्न योग्य बुटवल सहर’ भन्ने मूल नारालाई आत्मसात गर्दै बजेट तयार गरिएको बताइन। उनका अनुसार बजेटले नागरिकको जीवनस्तर सुधार, पूर्वाधार विस्तार, आर्थिक गतिविधिको प्रवर्धन तथा सामाजिक विकासलाई केन्द्रमा राखेको छ।

कुल बजेटमध्ये ५२ प्रतिशत रकम चालु खर्चका लागि विनियोजन गरिएको छ भने ४८ प्रतिशत हिस्सा पुँजीगत खर्चतर्फ छुट्याइएको छ। क्षेत्रगत रूपमा हेर्दा सामाजिक विकासका कार्यक्रमका लागि २८ प्रतिशत, आर्थिक विकासका लागि १२ प्रतिशत तथा पूर्वाधार विकासतर्फ सबैभन्दा बढी ५५ प्रतिशत बजेट विनियोजन गरिएको छ। सुशासन र अन्तरसम्बन्धित क्षेत्रका लागि ५ प्रतिशत बजेट छुट्याइएको छ।

उपमहानगरपालिकाले आगामी वर्ष आन्तरिक स्रोतबाट १ अर्ब ५० करोड ३८ लाख ५९ हजार २ सय रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।

विज्ञापन कर, मनोरञ्जन कर तथा दहत्तर–बहत्तर बिक्री लगायत स्थानीय राजस्व बाँडफाँटबाट ७८ करोड ७७ लाख ७८ हजार ८ सय रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसका साथै गत आर्थिक वर्षको मौज्दात तथा अन्य स्रोतबाट समेत रकम जुटाइने गरी कुल स्रोत व्यवस्थापनको खाका तयार गरिएको छ।

बजेट कार्यान्वयनका लागि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई पनि प्रमुख आधार बनाइएको छ। संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानमार्फत उल्लेख्य रकम प्राप्त हुने प्रक्षेपण गरिएको छ।

उपमहानगरको अनुमानअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबापत २९ करोड २२ लाख रुपैयाँ, चालुतर्फको सशर्त अनुदान ५० करोड २५ लाख रुपैयाँ, पुँजीगत सशर्त अनुदान ७ करोड ४ लाख रुपैयाँ, विशेष अनुदान ९० लाख रुपैयाँ तथा समपूरक अनुदान २० लाख रुपैयाँ प्राप्त हुनेछ।

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान २ करोड ३ लाख ६५ हजार रुपैयाँ, चालुतर्फ सशर्त अनुदान ५६ लाख ५० हजार रुपैयाँ, पुँजीगत सशर्त अनुदान १ करोड ७३ लाख रुपैयाँ, समपूरक अनुदान १ करोड ५० लाख रुपैयाँ तथा विशेष अनुदान २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

राजस्व बाँडफाँटअन्तर्गत संघीय सरकारबाट १९ करोड ४३ लाख ८६ हजार रुपैयाँ तथा प्रदेश सरकारबाट २ करोड ७५ लाख ६१ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण बजेटमा समेटिएको छ।

उपमहानगरपालिकाले आगामी वर्षको बजेटमार्फत पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी प्रवर्धनका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ। बजेट कार्यान्वयन प्रभावकारी भए बुटवललाई थप व्यवस्थित, सुविधासम्पन्न र बस्नयोग्य सहरका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

असार १०, २०८३ बुधबार १७:०५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।