रास्वपा महाधिवेशन : मतदानका लागि अझै तीन घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० जनाको उम्मेदवारी
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको मतदानका लागि अझै तीन घण्टा लाग्ने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय सदस्यका उम्मेदवारको नामावली तयारीसँगै अन्य प्रक्रिया पूरा गर्न तीन घण्टा लाग्ने भएको हो।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन प्रक्रिया सुरु हुन दुईदेखि तीन घण्टा लाग्ने जानकारी दिए।
उनले भने, “केन्द्रीय सदस्यको उम्मेदवारी अध्ययन, दाबी विरोध, विद्युतीय मतदान उपकरणमा उम्मेदवारको नामावली प्रविष्ट गर्नेलगायत काम बाँकी रहेकाले दुईदेखि तीन घण्टा लाग्न सक्छ।”
केन्द्रीय सदस्यका लागि सुरुमा धेरै नाम आए पनि कतिपयको दोहोरिएका कारण हाल कुल ३७० जनाको उम्मेदवारी कायम भएको उनले बताए।
प्रतिनिधिको समस्या समाधानका लागि तीन वटा हेल्प डेस्क बनाएर काम सुरु गर्न लागिएको उनले जानकारी दिए। उनले भने, “खाना खान प्रयोग भइरहेको हल पछाडि तीन वटा डेस्क बनाएर काम गरिएको छ।”
प्रदेशका सभापति र महामन्त्रीमार्फत समस्या समाधानका लागि काम भइरहेको उनले बताए।
असार १०, २०८३ बुधबार १४:४२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।