परराष्ट्र मन्त्रालयद्वारा जेठ महिनामा गरेका कामको विवरण सार्वजनिक : ८१९ नेपालीको उद्धारदेखि कूटनीतिक सक्रियतासम्म
काठमाडौं : परराष्ट्र मन्त्रालयले गत जेठ महिनामा गरेका प्रमुख कार्यहरूको ४९ बुँदे सूचीसहितको मासिक प्रतिवेदन सार्वजनिक गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार गत महिना कूटनीतिक सक्रियता, नेपाली नागरिकहरूको उद्धार तथा कन्सुलर सेवा प्रवाहका क्षेत्रमा हासिल भएका उपलब्धिहरूलगायतका विषय समावेश भएका छन्।
परराष्ट्रमन्त्री श्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा जेठ २२ देखि २४ गतेसम्म भारतको भ्रमण गरेका थिए। त्यसक्रममा द्विपक्षीय व्यापार, ऊर्जा, विकास सहकार्य र जनस्तरको सम्बन्धबारे वार्ता गरेका थिए।
परराष्ट्रमन्त्री खनालले चिनियाँ विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा जेठ ३१ देखि असार ३ गतेसम्म चीनको चारदिने औपचारिक भ्रमण गरेका थिए।
परराष्ट्र मन्त्रालयको समन्वय र सहजीकरणमा गत जेठ १२ गते प्रधानमन्त्री वालेन्द्र शाहसँग काठमाडौं र नयाँ दिल्लीस्थित युरोपियन युनियन र काठमाडौंस्थित यूरोपेली र अन्य मुलुकका राजदूत /नियोग प्रमुखहरूले संयुक्त शिष्टाचार भेट गरेका थिए ।
मन्त्रालयले जेठ महिनामा दक्षिणपूर्वी एसियाका विभिन्न मुलुकमा अवैधानिक रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोहरूमा कार्यरत ८१९ जना नेपाली नागरिकको सकुशल उद्धार गरेको छ। उद्धार गरिएकाहरूमध्ये सबैभन्दा बढी कम्बोडियाबाट ६९४ जना, म्यानमारबाट १११ जना, लाओसबाट ८ जना र थाइल्यान्डबाट ६ जना रहेका छन्।
विदेशमा रहेका नेपालीहरूलाई प्रविधिमा आधारित, चुस्त र प्रभावकारी कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले "MoFA Mitra" मोबाइल एप ल्याएको छ।
प्राप्त निवेदनबमोजिम १९ थान गैरआवासीय नेपाली परिचय पत्र जारी गरिएको परराष्ट्र मन्त्रालयको मासिक प्रतिवेदनमा उल्लेख छ।
साथै, जेठ महिनामा कन्सुलर सेवा विभागबाट ७५ हजार चार सय ५३ थान कागजात प्रमाणीकरण गरिएको छ भने राहदानी विभाग र जिल्ला/नियोगहरूबाट कुल एक लाख एक हजार तीन सय ३० थान राहदानी जारी गरिएको छ।
कन्सुलर सेवा विभागबाट १२२ जना नेपाली नागरिकहरूको उद्धार तथा क्षतिपूर्तिका लागि र विदेशमा मृत्यु भएका २२ जना नेपालीहरूको शव व्यवस्थापनका लागि नेपाली नियोगहरूसँग समन्वय तथा सहजीकरण गरिएको विवरण छ।
परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षा मन्त्री जोन हिलीबीच भर्चुअल बैठक भई भूतपूर्व ब्रिटिश गोर्खाहरूका बाँकी मागहरूबारे छलफल भएको छ।
राष्ट्रपतिसमक्ष रूस, लक्जेम्वर्ग, अष्ट्रिया र इरानका नयाँ राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा विश्व स्वास्थ्य संगठनको ७९औँ महासभामा नेपालको सहभागिता रह्यो, जहाँ मन्त्री मेहता उपाध्यक्ष पदमा निर्वाचित भएकी छन्।
मन्त्रालयले आफ्नो शासकीय सुधारका कार्यक्रम र नागरिक चासोका विषयहरूलाई सामाजिक सञ्जाल (एक्स, फेसबुक) तथा प्रवक्तामार्फत नियमित रूपमा सार्वजनिक गर्दै आएको समेत जनाएको छ।
असार १०, २०८३ बुधबार १४:०९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।