क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ वटै जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको आगामी १५औं महाधिवेशनको तयारीस्वरुप नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई व्यवस्थित बनाउन मुलुकका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार नयाँ सदस्यता वितरण अभियानलाई प्रभावकारी बनाउन प्रतिनिधिहरू मनोनयन गरिएको हो।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने मुख्य उद्देश्य राखिएको छ।
तोकिएका केन्द्रीय प्रतिनिधिहरूले २०८३ साल असार ७ गतेदेखि असार २० गतेसम्म आ-आफ्नो जिम्मेवारी पाएको जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्नेछन्।
को कहाँ खटिए?
प्रतिनिधिहरूमा पार्टीका केन्द्रीय सदस्य, भ्रातृ संस्थाका पदाधिकारी तथा आबद्ध संघका नेतृत्वकर्ताहरू रहेका छन्।
काठमाडौंमा सह-महामन्त्री उदय शमसेर राणा, भक्तपुरमा केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी, ललितपुरमा मनोजमणि आचार्य, कञ्चनपुरमा दिलेन्द्र प्रसाद बडू, कैलाली मधु आचार्य, चितवनमा डा. केदार नरसिंह केसी रहेका छन्।
यसका अलावा झापामा राजीव कोइराला, मोरङमा सुधीरकुमार शिवाकोटी, कास्कीमा विष्णुदेवी पाण्डे खटिएका छन्।
खटिएका प्रतिनिधिहरूले जिल्ला कार्यसमिति, स्थानीय निकाय र भ्रातृ संस्थाहरूसँग समन्वय गरी सदस्यता वितरणलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सहजीकरण गर्नेछन्।
कांग्रेसले १५औं महाधिवेशनको साङ्गठनिक आधार बलियो बनाउन यो देशव्यापी अभियान सञ्चालन गरेको हो।
असार १०, २०८३ बुधबार १३:२६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।