रास्वपा महाधिवेशन लम्बिएपछि काठमाडौं फर्किए प्रधानमन्त्री बालेन, मतदान प्रक्रियामा प्राविधिक सकस
चितवन : चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिने भएपछि प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह महाधिवेशन नसकिँदै काठमाडौं फर्किएका छन्।
निर्वाचन प्रक्रियामा भएको ढिलाइका कारण निर्धारित समयभन्दा महाधिवेशनको अवधि थपिने भएपछि प्रधानमन्त्री शाह मंगलबार बिहान साढे ११ बजेको उडानमार्फत परिवारसहित राजधानी फर्किएका हुन्।
गत असार ७ गते श्रीमती, छोरी र सचिवालयका केही सदस्यसहित चितवन आएका प्रधानमन्त्री शाहले महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए।
चितवन बसाइका क्रममा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमणसमेत गरेका थिए।
कालिका नगरपालिका-९ शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा बसेका शाह सोमबार साँझ बन्दसत्रमा सहभागी भई पार्टी सभापतिमा रवि लामिछानेको प्रस्तावक बसेका थिए।
महाधिवेशनबाट लामिछाने पार्टी सभापतिमा निर्विरोध निर्वाचित भइसकेका छन् भने शाहलाई वरिष्ठ नेता मनोनीत गर्ने तयारी छ।
महाधिवेशन लम्बिने निश्चित भएपछि उनी भरतपुर विमानस्थलबाट काठमाडौं प्रस्थान गरेका हुन्। हाल विमानस्थलको भीआईपी कक्ष प्रयोगमा नभएकाले उनले सामान्य कक्ष नै प्रयोग गरेका थिए।
मतदान प्रक्रियामा ढिलाइ र प्राविधिक चुनौती
रास्वपा महाधिवेशन निर्धारित समयभन्दा लम्बिनुको मुख्य कारण निर्वाचन आयोगको सुस्त प्रक्रिया र प्राविधिक तयारी हो।
९९ सदस्यीय केन्द्रीय सदस्यका लागि करिब ४०० जनाले उम्मेदवारी दर्ता गराए पनि निर्वाचन आयोगले समयमै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न सकेको छैन।
राम लक्ष्मण ई-भोटिङ मेसिनका संस्थापक राम रिमालका अनुसार उम्मेदवारहरूको अन्तिम सूची प्राप्त भएपछि त्यसलाई मेसिनमा फोटोसहित अपलोड गर्न मात्रै ४ देखि ५ घण्टा लाग्नेछ।
यसका साथै, एक जना प्रतिनिधिलाई विद्युतीय मेसिनमार्फत मतदान कार्य सम्पन्न गर्न १५ देखि १८ मिनेटसम्म लाग्ने अनुमान गरिएको छ।
असार ७ देखि ९ गतेसम्मका लागि तय गरिएको महाधिवेशन सांगठनिक र प्राविधिक कारणहरूले गर्दा थप लम्बिने भएको छ।
पहिलो चरणमा ९९ केन्द्रीय सदस्य चयन भएपछि मात्र दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन हुनेछ। उम्मेदवारको नामावली प्रकाशनमा भएको ढिलाइले गर्दा बन्दसत्र र मतदानको समग्र प्रक्रिया प्रभावित बनेको छ।
असार १०, २०८३ बुधबार १३:०९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।