चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई मूर्ति फिर्ता

चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई मूर्ति फिर्ता

काठमाडौं : नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका दुई वटा अमूल्य पुरातात्त्विक मूर्तिहरू नेपाललाई फिर्ता गरिएको छ।

न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित एक विशेष समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

समारोहमा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी र म्यानहटन सरकारी वकिलको कार्यालयअन्तर्गतको पुरातात्त्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले हस्तान्तरणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।

महावाणिज्यदूतावासले जारी गरेको विज्ञप्ति अनुसार १३औं शताब्दीको कास्यबाट बनेको पद्मपाणीको मूर्ति काठमाडौंको थमबहिल (विक्रमशील महाविहार, भगवानबहाल) को ऐतिहासिक कलाकृति मानिन्छ।

उक्त मूर्तिको अन्तिम तस्बिर सन् १९७१ मा लिइएको अभिलेख छ। यो मूर्ति सन् १९७१ देखि १९७७ को बिचमा कुनै समयमा अवैध रूपमा अमेरिका पुर्याइएको अनुमान छ।

त्यसैगरी, ललितपुरको इबहा बहीको उत्कृष्ट काष्ठकलाको नमुना मानिने १६औं शताब्दीको काठको नृत्यदेवीको मूर्ति सन् १९६९ देखि १९८३ को बिचमा चोरी गरी अमेरिका लगिएको ठानिएको छ।

यो मूर्ति पछि न्युयोर्कस्थित मेट्रोपोलिटन म्युजियमबाट बरामद गरिएको थियो। यी दुवै सम्पदा न्युयोर्क सरकारी वकिलको कार्यालयले अमेरिकी गृह सुरक्षा अनुसन्धान निकाय तथा अन्य साझेदार संस्थाहरूसँगको सहकार्यमा खोजी गरेको हो।

समारोहमा महावाणिज्यदूत भण्डारीले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट अमेरिकी सरकार, न्युयोर्क सरकारी वकिलको कार्यालय, गृह सुरक्षा अनुसन्धान निकाय, अनुसन्धानकर्ता, म्युजियम र सम्पदा संरक्षण अभियन्ताहरूप्रति आभार व्यक्त गरे। संयुक्त प्रयासबाट मात्र यी अमूल्य सांस्कृतिक सम्पदाको खोजी र स्वदेश फिर्ती सम्भव भएको उनले बताए।

नेपाल र अमेरिकाबिच सांस्कृतिक सम्पदाको अवैध ओसारपसार नियन्त्रणका लागि भइरहेको सहकार्य अन्तर्राष्ट्रिय साझेदारीको राम्रो उदाहरण भएको उनको भनाइ थियो। उनले अमेरिकास्थित नेपाली समुदाय र विशेषगरी नेवा गुठी न्युयोर्कलाई नेपाली सम्पदाको संरक्षणमा पुर्याएको योगदानका लागि धन्यवाद दिए।

हस्तान्तरण गरिएका दुवै सम्पदालाई आउँदो जुन २५ मा नेपाल पठाइने भएको छ। यसको ढुवानी तथा व्यवस्थापन नेपाली महावाणिज्यदूतावास र नेवा गुठी न्युयोर्कको समन्वयमा हुनेछ भने गुठीका प्रतिनिधिहरूले सम्पदासँगै नेपालसम्म यात्रा गर्नेछन्। काठमाडौं आइपुगेपछि ती मूर्तिहरू पुरातत्त्व विभाग लगायतका सरकारी निकायलाई बुझाइनेछ।

समारोहमा सरकारी अधिकारी, नेवा गुठीका प्रतिनिधि, मेट्रोपोलिटन म्युजियमका पदाधिकारी, प्राध्यापक तथा सम्पदा संरक्षणकर्मीहरूको उपस्थिति रहेको थियो।

असार १०, २०८३ बुधबार १०:२४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।