संविधान संशोधनमा रास्वपाको प्रस्ताव : प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली

संविधान संशोधनमा रास्वपाको प्रस्ताव : प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहितको प्रस्ताव अघि सारेका छन्।

मंगलबार चितवनमा जारी पार्टीको महाधिवेशनको बन्दसत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनमा लामिछानेले स्थिर नेतृत्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी र सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न खर्चिलो वर्तमान प्रणालीको सट्टा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्नेमा रास्वपाको लाइन प्रष्ट परेका हुन्।

उनको प्रतिवेदनमा राष्ट्रिय सभालाई ‘गैर-दलीय विशेषज्ञ सभा’ बनाउनुपर्ने र उपराष्ट्रपतिको पदलाई राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी दिने व्यवस्था प्रस्ताव गरिएको छ।

प्रतिवेदनमा प्रदेश सभा र प्रदेश सरकारको समेत पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याएको छ। तर, पुनर्संरचना कस्तो हुने भन्नेबारे प्रतिवेदन मौन छ। यद्यपि संविधान दलको घोषणापत्र नभई राष्ट्रको साझा दस्तावेज भएकोले संशोधन पनि राष्ट्रको दीर्घकालीन आवश्यकता, जनताको अनुभव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित हुने भनिएको छ। 

संकुचित राजनीतिक स्वार्थभन्दा माथि उठेर विज्ञहरूको सुझाव र नागरिक सहभागिता र सम्भव भएसम्म सर्वदलीय सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने पक्षमा रास्वपा रहेको उल्लेख छ।  

असार ९, २०८३ मंगलबार २२:३८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।