रास्वपाको वैचारिक लाइन सामाजिक लोकतन्त्र

रास्वपाको वैचारिक लाइन सामाजिक लोकतन्त्र

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको राजनीतिक सिद्धान्तको रूपमा सामाजिक लोकतन्त्रलाई प्रस्ताव गरेका छन्।

मंगलबार पार्टी महाधिवेशनको बन्दसत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उनले रास्वपाको वैचारिक कार्यदिशाबारे लामो समयदेखि जारी अन्योल चिर्दै सामाजिक लोकतन्त्रलाई राजनीतिक वैचारिकीका रूपमा प्रस्ताव गरे।

तर, व्याख्यामा उनले रास्वपामाथि सार्वजनिक रूपमा उठेका सवालहरूको खण्डन पनि गरेका छन्। यद्यपि लामिछानेले परम्परागत वामपन्थी वा दक्षिणपन्थी राजनीतिक ध्रुवीकरणमा भने रास्वपा सीमित नहुने स्पष्ट पारे।

प्रतिवेदनमा पार्टीले कुनै पनि कठोर वैचारिक चौघेरामा नबाँधिई व्यावहारिक, विवेकसम्मत र यथार्थमा आधारित सामाजिक लोकतन्त्रको बाटो अवलम्बन गर्ने उल्लेख छ। 

प्रतिवेदनमा भनिएको छ, "कुनै पनि कठोर वैचारिक चौघेरालाई होइन, हामी व्यावहारिक, विवेकसम्मत, आवश्यकता तथा यथार्थतामा आधारित दृष्टिकोणलाई प्राथमिकता दिन्छौं। पुराना वैचारिक ढाँचाहरूले मानव समाजलाई दिएको ऐतिहासिक योगदान, अनुभव र सकारात्मक अभ्यासलाई हामी सम्मान गर्छौं, तर तिनलाई व्यावहारिक उपयोगिता र सामाजिक न्यायको तुलोमा जोख्छौं।" 

निजी क्षेत्रको प्रोत्साहन र लगानीमैत्री वातावरणमार्फत आर्थिक वृद्धि गर्ने तथा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा राज्यको बलियो भूमिका सुनिश्चित गर्ने मिश्रित मोडेल नै रास्वपाको विचार भएको उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, "हामी राज्य, समाज र अर्थतन्त्रलाई कुनै एकल वैचारिक ढाँचाबाट होइन, मिश्रित, सन्तुलित र परिस्थिति अनुकूल दृष्टिकोणबाट अघि बढाउनुपर्छ भन्ने मान्यता राख्छौं। हामी आँखा जँचाएर चश्मा बनाउनुपर्छ भन्छौं, चश्माअनुसारको आँखा होइन।"

असार ९, २०८३ मंगलबार २१:५६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।