गृहमन्त्री सुधनको अम्लेटमा माछाको काँडा परेको होटेललाई तीन लाख जरिवाना
काठमाडौं : गृहमन्त्री सुधन गुरुङको अम्लेटमा माछाको काँडा परेको चितवनको होटल लर्ड्सलाई जिल्ला प्रशासन कार्यालय चितवनले तीन लाख जरिवाना गरेको छ। सोमबार बिहान खाजामा गृहमन्त्री गुरुङले मगाएको अम्लेटमा माछाको काँडा परेपछि उनले यसबारे प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रमुखलाई जानकारी दिएपछि प्रहरीले सोधपुछका लागि होटेलका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको थियो।
पछि जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमन गरेर उसलाई तीन लाख जरिवाना गराएको हो। जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार सो होटलमा खानाको गुणस्तरका सम्बन्धमा उपभोक्ताहरूबाट गुनासोको आधारमा सहायक प्रमुख जिल्ला अधिकारी सहितको निरीक्षण टोलीबाट अनुगमन गर्दा होटेलले गुणस्तरहीन खाने तेलको प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको र उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गरी खानेकुरा उपलब्ध गराएको पाइएको भन्दै तीन लाख जरिवानाको निर्णय गरेको उल्लेख छ।
प्रशासकीय अधिकृत मदन लामा थिङको नाममा जारी भएको विज्ञप्तिमा “उल्लेखित कैफियतहरूको विश्लेषणबाट उक्त होटेलले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ को खण्ड (क) तथा सोही ऐनको दफा ३८ को खण्ड (ङ) को कसुर गरेको पाइएकोले सहायक प्रमुख जिल्ला अधिकारी (निरीक्षण अधिकृत) को निर्णयअनुसार सो होटेललाई उ ३ लाख जरिवाना गरेर बरामद गरिएका खाद्य सामाग्रीहरू नष्ट गर्ने निर्णय भएको’ उल्लेख छ।
तर विज्ञप्तिमा के के अखाद्य सामग्री बरामद भयो र कति परिमाणमा नष्ट गरियो भन्ने उल्लेख गरिएको छैन। रास्वपाको महाधिवेशनमा सहभागी हुन गएका गृहमन्त्री गुरुङ सोही होटलमा बसिरहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले उकेरालाई होटलको खानाबारे गुनासो आएपछि सोधपुछका लागि होटेलका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको जानकारी दिएका थिए। प्रहरीले सोधपुछपछि दुबैलाई थुनामुक्त गरिसकेको जनाएको छ।
गृहमन्त्री सुधन गुरुङ मिडिया नामक ह्वाट्सएप ग्रुपमा कमल सरगम नामका प्रयोगकर्ताले "चितवनको लड्स प्लाजा होटलमा आज (मंगलबार) अमलेट खाने क्रममा माछाको हड्डी भेटेको र खाद्य विभागले अखाद्य वस्तुको विषयमा होटल सञ्चालक टिमसँग सामान्य सोधपुछ मात्र गरिएको र कुनै पनि कर्मचारीलाई पक्राउ नगरिएको" दाबी गरेका थिए।
असार ९, २०८३ मंगलबार २१:०६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
