रास्वपाको महाधिवेशन निर्वाचन तालिका फेरि संशोधन
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधन गरी सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले मंगलबार संशोधित तालिका सार्वजनिक गरेको हो।
तालिका अनुसार महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ। आयोगका प्रमुख भुवन केसीका अनुसार मंगलबार साँझ ५ बजे महाधिवेशन प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको हो।
मंगलबारै साँझ ७ बजेदेखि साढे ७ बजेसम्म पार्टी सभापतिको उम्मेदवारका लागि फारम वितरण गर्ने कार्यतालिका छ। पार्टी केन्द्रीय सदस्यका लागि साढे ७ बजेदेखि साढे ९ बजेसम्म फारम वितरण र दर्ता गरिनेछ। उनका अनुसार उम्मेदवारको प्रारम्भिक नामावली राति १० बजे प्रकाशन गरिनेछ।
उम्मेदवार विरुद्ध दाविविरोध गर्न राति साढे १० बजेसम्मको समय दिइएको छ। दाविविरोध परेका उम्मेदवारको जाँचबुझ राति ११ बजेसम्म गरिने छ। राति सवा ११ बजे उम्मेदवारले निर्वाचन आयोगको सचिवालयमार्फत उम्मेदवारी फिर्ता लिन सक्ने छन्। अन्तिम नामावली पौने १२ बजे प्रकाशन गरिने उनले जानकारी दिए।
बुधबार बिहान पहिलो चरणको मतदान हुने केसीले बताए। मतदान सकिएको दुई घण्टा पछि मत गणनाको गरी परिणाम घोषणा गरिने आयोगले जनाएको छ। पहिलो चरणको मत परिणाम घोषणा भएसँगै दोस्रो चरणको उम्मेदवारी तथा अन्य थप कार्यतालिका प्रकाशन गरिने छ।
असार ९, २०८३ मंगलबार २०:२०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।