रास्वपा नेतृत्वलाई गुटबन्दीको पिर; पुरानै शैलीले फरक परिणाम सम्भव

रास्वपा नेतृत्वलाई गुटबन्दीको पिर; पुरानै शैलीले फरक परिणाम सम्भव

काठमाडौं : करिब दुई तिहाइ नजिकको बहुमत सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशकै ठूलो दल बनेदेखि सभापति रवि लामिछाने पार्टीभित्र गुट-उपगुटमा फस्ने चिन्तामा देखिन्छन्। निर्वाचनको नतिजा सार्वजनिक भए लगत्तै सांसदहरूको लागि रास्वपा द्वारा आयोजित अभिमुखीकरणदेखि महाधिवेशनसम्ममा उनले गुटबन्दी गर्न नहुने विषयलाई मुख्य एजेन्डा जस्तै प्रस्तुत गरिरहेका हुन्छन्।

पार्टीका मञ्चहरूमा उनको सम्बोधनमा प्राय गुटको विषय छुट्दैन। पार्टीभित्र गुटको अभ्यास भइरहँदा उनले भने सार्वजनिक रूपमै गुटगत राजनीति नगर्न जोड दिइरहेको देखिन्छ।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा पनि उनले गुटगत राजनीतिलाई प्रश्रय नदिन आह्वान गरेका थिए। गुटको चिन्ता व्यक्त गर्नुको कारण पार्टीको जिल्लादेखि प्रदेशसम्मको निर्वाचनमा देखिएको माहोल रहेको बताइन्छ। रास्वपाको जिल्ला र प्रदेश तहका निर्वाचनमा गुटको प्रभाव देखिएको थियो। गुटगत प्रभावका कारण पार्टीले मधेस प्रदेशको अधिकांश जिल्ला र प्रदेशको निर्वाचन समेत गर्न सकेन।

सभापति लामिछानेले पार्टीभित्र गुट-उपगुट बनेको अवस्थामा अपेक्षित परिणाम हासिल नहुने सन्देश दिइरहेका छन्। गुट-उपगुटलाई पुरानै राजनीतिक शैलीको रूपमा चित्रित गर्दै पार्टीभित्र हुने त्यस्ता अभ्यासलाई मत्थर बनाउन प्रयास गरिरहेको देखिन्छ। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रमा पनि उनले सोही विषय दोहोर्याए।

सबै प्रतिनिधिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै लामिछानेले पुरानै राजनीतिक अभ्यास, आन्तरिक खिचातानी र शक्ति प्राप्त गर्ने दौडले पार्टीलाई सफलतामा नपुर्याउने धारणा राखे। परिवर्तनको साझा लक्ष्यमा अघि बढ्दा फरक राजनीतिक चरित्रको आवश्यकता हुने उनको भनाइ थियो। 

"म तपाईंहरुलाई सम्मान गर्न चाहन्छु। जो, जहाँ, जसरी आउनुभएको भए पनि हाम्रो उद्देश्य साझा छ। लक्ष्य प्राप्त गर्ने तरिका पनि एकै हुनुपर्छ। राजनीतिक चरित्र उस्तै रह्यो, राजनीतिक खिचातानी उस्तै रह्यो, शक्ति प्राप्त गर्ने दौड उस्तै रह्यो, झन्झन् शक्तिशाली बन्नका लागि गुट-उपगुटको सङ्घर्ष उस्तै रह्यो भने हामीबाट आउने परिणाम उस्तै हुन्छ, फरक हुँदैन," उनले भने। 

फरक परिणाम चाहिएको भए सोच र कार्यशैलीमै परिवर्तन आवश्यक रहेको लामिछानेको भनाइ थियो। उनले भने, "फरक परिणाम निकाल्ने हो भने केही फरक त सोच्नै पर्छ। जो जहाँ जसरी आउनुभएको भए पनि हाम्रो उद्देश्य साझा छ। जहाँबाट जसरी आएको भएता पनि यो निलो रङभित्र हामीले राष्ट्रका लागि गर्नुपर्ने प्रतिबद्धता सँगै मिसिएर आएको छ। हिजोकै शैलीले फरक परिणाम निकाल्ने कसैले पनि दिवास्वप्न देखेको छ भने त्यो असफलतातर्फ जान्छ।"

असार ९, २०८३ मंगलबार १७:२९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।