गृहमन्त्री सुधनको अम्लेटमा माछाको काँडा भेट्दा होटेलका दुई कर्मचारी प्रहरी नियन्त्रणमा

गृहमन्त्री सुधनको अम्लेटमा माछाको काँडा भेट्दा होटेलका दुई कर्मचारी प्रहरी नियन्त्रणमा

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको बिहानी खाजाको अम्लेटमा माछाको काँडा भेटिएपछि अम्लेट बनाउने होटेलका दुई कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गृहमन्त्री गुरुङ चितवनको लड्स प्लाजा होटलमा बसेका थिए। बिहान खाजामा अम्लेट खाने क्रममा माछाको काँडा फेला परेपछि उनले होटेलका स्टाफहरूलाई बोलाएर थर्काएनन् मात्र प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र एसपी रामेश्वर पौडेललाई फोन गरेर तत्काल कार्वाही गर्न निर्देशन दिए।

गृहमन्त्रीबाट निर्देशन आएपछि तत्काल जिल्ला प्रहरी कार्यालयबाट प्रहरी गएर अम्लेट बनाउने दुई कर्मचारीलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याएर नियन्त्रणमा राखेको छ। यो समाचार तयार पार्ने समयमा पनि दुवै कामदार प्रहरी नियन्त्रणमा थिए।

होटेलका दुई कर्मचारीलाई नियन्त्रणमा लिएकोबारे एसपी पौडेललाई उकेराले जिज्ञासा राख्दा ग्राहकको खानामा अखाद्य वस्तु परेकोबारे सोधपुछका लागि नियन्त्रणमा लिएको र सोधपुछ सकिएपछि छाड्ने बताए।

 

असार ९, २०८३ मंगलबार १६:४३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।