सुर्खेतबाट पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेल काठमाडौं ल्याइए, आजै म्याद थप गरिँदै

सुर्खेतबाट पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेल काठमाडौं ल्याइए, आजै म्याद थप गरिँदै

काठमाडौं : सुर्खेतबाट पक्राउ परेका एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ।

प्रहरीले पौडेललाई केहीबेर अघि ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुर्याएको हो।

पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई राति नै स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

पौडेललाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले उनको निवासमा समेत छापा मारेको थियो। पौडेललाई आजै म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी भइरहेको छ।

उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतमाथि अनुसन्धान गर्ने सिलसिलामा नियन्त्रणमा लिइएको विभाग सम्बद्ध उच्च स्रोतले जनाएको छ। यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

असार ९, २०८३ मंगलबार १३:०४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।