अनलाइनबाट समाचार हटाउन अदालतले दिएको आदेशप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण

अनलाइनबाट समाचार हटाउन अदालतले दिएको आदेशप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण

काठमाडौं : काठमाडौं जिल्ला अदालतले अनलाइनमा प्रकाशित समाचार हटाउन दिएको अन्तरकालीन आदेशलाई निरन्तरता दिएकोप्रति अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जिल्ला अदालत काठमाडौंले बिजनेस भेन्चर्स मिडिया प्रालिद्वारा सञ्चालित ‘बिजनेसन्युज डटकम’मा प्रकाशित साईमेक्स ईन्क प्रा.लि. सम्बन्धी समाचारलाई लिएर उक्त आदेश जारी गरेको हो।

अदालतले गत जेठ २५ गते जारी गरेको अन्तरकालीन आदेशलाई निरन्तरता दिँदै मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म सम्बन्धित समाचार सामग्री अनलाइन माध्यमबाट तुरुन्त हटाउन र थप प्रकाशन तथा प्रसारण नगर्न आदेश दिएको छ।

मंगलबार संघका अध्यक्ष शिवप्रसाद सत्यालद्वारा जारी विज्ञप्तिमा अदालतको यो आदेशले पत्रकारिताको मूल मर्ममा आघात पुर्याएको उल्लेख गरिएको छ।

पत्रकार आचारसंहिता, २०७३ को दफा ५ (८) मा अनलाइन सञ्चारमाध्यमबाट प्रकाशन वा प्रसारण भइसकेका समाचार सामग्री सकेसम्म हटाउनु हुँदैन भन्ने व्यवस्था छ। अदालतले समाचार हटाउन दिएको आदेशले आचारसंहिताको सो व्यवस्थामाथि दख्खल पुगेको संघको ठहर छ।

अदालतले समाचारको सत्यता परीक्षण नगरी अर्थात् समाचारमा समावेश तथ्यहरू सही हुन् वा गलत भन्ने निष्कर्षमा नपुग्दै अन्तरकालीन आदेशका भरमा समाचार हटाउन लगाउनु पत्रकारिताको मर्म विपरीत भएको विज्ञप्तिमा उल्लेख छ।

यसअघि पनि अदालतबाट ‘नेपालखबर डटकम’ र ‘बिजमाण्डू डटकम’मा प्रकाशित समाचार हटाउन जारी गरिएका यस्तै अन्तरकालीन आदेशहरू पछि खारेज भएको नजिर संघले स्मरण गराएको छ।

अन्तरकालीन आदेशका भरमा अनलाइन माध्यमबाट समाचार हटाउन लगाउने परिपाटीप्रति चिन्ता व्यक्त गर्दै संघले सम्मानित अदालतबाट प्रेस स्वतन्त्रताको रक्षा हुने विश्वास व्यक्त गरेको छ।

साथै, अदालतबाट आउने अन्तिम फैसलालाई स्वीकार गर्न, अदालतको सम्मान गर्न र संविधान एवं कानुनको पालना गर्न अनलाइन पत्रकार संघले सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ।

असार ९, २०८३ मंगलबार १२:२८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।