रास्वपा महाधिवेशन : दिउँसो २ बजेबाट बन्द सत्र सुरु हुँदै, यस्तो छ संशोधित कार्यतालिका

रास्वपा महाधिवेशन : दिउँसो २ बजेबाट बन्द सत्र सुरु हुँदै, यस्तो छ संशोधित कार्यतालिका

काठमाडौं : चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आजको बन्द सत्र दिउँसो २ बजेबाट सुरू हुने भएको छ।

सोमबार दिनभरीको रस्साकस्सीपछि मंगलबार पार्टी महामन्त्रीद्वारा सञ्चालन हुने यस बन्द सत्रमा विभिन्न महत्वपूर्ण प्रतिवेदनहरू प्रस्तुत, छलफल र अनुमोदन गर्ने कार्यतालिका रहेको छ।

यसअघि सोमबार बन्दसत्र भएर मंगलबार विहानैदेखि निर्वाचनमा प्रवेश गर्ने भनिएकोमा त्यस्तो हुन सकेन।

पार्टीले सार्वजनिक गरेको आधिकारिक कार्यतालिका अनुसार दिउँसो २  बजेदेखि सुरु हुने बन्द सत्रमा साढे २ बजेभित्र अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् त्यसमाथि छलफल हुनेछ।

तीन बजेसम्म कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको वित्तीय प्रतिवेदन प्रस्तुत गर्नेछिन् र त्यसमाथि छलफल हुनेछ भने ३:४५ बजेसम्म पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत  गर्नेछन्।

दिउँसो ३:४५ देखि ४:४५ बजेसम्म पार्टी सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव प्रस्तुत गरेर सो प्रस्तावलाई अनुमोदन गराइनेछ।

बेलुकी ४:४५ देखि ५:१५ बजेसम्म पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीको अर्थ-राजनीतिक प्रस्तावना प्रस्तुत गर्नेछन् भने ६:३५ बजेसम्म पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेर त्यसमाथि छलफल हुनेछ।

बेलुकी ६:३५ देखि ६:४५ बजेसम्म सभापति रवि लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन् सोही आयोजक समितिले महाधिवेशनको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ।

जिम्मेवारी हस्तान्तरण भइसकेपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी आवश्यक जानकारी र निर्वाचनको कार्यतालिका प्रकाशन गर्नेछ।

सो पश्चात् निर्वाचन आयोगको कार्यतालिका अनुसार निर्वाचनका कार्यक्रमहरू निरन्तर अगाडि बढ्ने जनाइएको छ।

असार ९, २०८३ मंगलबार ११:३५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।