‘हाम्रो प्रविधि र व्यवस्थापन ८० वर्ष पछाडि छ, नेपालले विश्वकप फुटबल खेल्ने कुरा अहिलेका लागि दिवास्वप्न हो’
फिफा विश्वकप २०२६ नयाँ फरम्याटका साथ रोमाञ्चक मोडमा पुगेको छ। यसपटक सहभागी टोलीको संख्या ४८ पुर्याइँदा नयाँ राष्ट्रहरूले स्थापित फुटबल शक्तिहरूलाई कडा चुनौती दिइरहेका छन्।
के विश्व फुटबलको शक्ति सन्तुलन बदलिएकै हो? पुराना टोलीहरू किन नयाँ टोलीसँग संघर्ष गरिरहेका छन् र नेपाली फुटबलको वास्तविक धरातल कस्तो छ?
यिनै विषयमा केन्द्रित रहेर नेपाली राष्ट्रिय फुटसल टोलीका सहायक प्रशिक्षक थम्मन भुषालसँग उकेराकर्मी अमृत पुडासैनीले गर्नुभएको कुराकानीको सम्पादित अंश:
पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ?
अचेल २०२६ को विश्वकपका खेलहरू भइरहेका छन्। त्यसैले समय मिलाएर नियमित रूपमा खेलहरू हेरिराको छु।
तपाईंले कहिलेदेखि विश्वकप हेर्न थाल्नुभयो? पहिलाको फुटबल र अहिलेको आधुनिक खेलमा के-कस्तो भिन्नता पाउनुहुन्छ?
मलाई राम्रोसँग सम्झना भएको सन् १९९८ को विश्वकप हो, जुन मैले गाउँका सिनियर दाइहरूको संगतले हेरेको थिएँ। तर, प्रत्यक्ष रूपमा टेलिभिजनमा लाइभ हेर्दै खेलाडीहरू चिन्न र खेल बुझ्न थालेको चाहिँ सन् २००२ देखि हो।
पहिलेको र अहिलेको फुटबलमा आकाश-जमिनको फरक भइसक्यो। विगतमा फुटबल इन्डिभिजुअल ब्रिलियन्समा बढी चल्थ्यो। विशिष्ट खेलाडीहरूले आफ्नो व्यक्तिगत सीप प्रदर्शन गर्थे र उनीहरूकै वरिपरि टिमको रणनीति बन्थ्यो। तर, अहिले फुटबल पूर्ण रूपमा परिवर्तन भएको छ।
यसको मुख्य कारण स्पोर्ट्स साइन्सको प्रवेश हो। फुटबल अब पुरानो परम्परागत ढाँचामा चलिरहेको छैन। अहिले टेक्निकल र ट्याक्टिकल पक्ष निकै स्पेसिफिक भएको छ। अहिलेको फुटबलको मुख्य विशेषता भनेकै क्विक ट्रान्जिसन र डिफेन्समा खेलाडी थपेर विपक्षीलाई रोक्ने हो।
पेलेको समय (१९५०-१९७० को दशक) मा व्यक्तिगत खेल बढी देखिन्थ्यो। अहिले भने व्यक्तिगतभन्दा पनि टिम वर्क चम्किने गरेको छ। त्यो समय र अहिलेको खेल शैलीमा के फरक छ?
पेलेको समयको फुटबलका केही भिडियो क्लिपहरू मात्र हामीले हेर्न पाएका छौँ। त्यतिबेला कुनै एक खेलाडीको असाधारण खेल कौशलकै भरमा विश्वकप जित्ने गरिन्थ्यो।
ब्राजिलमा पेले घाइते हुँदा टोलीले विश्वकप जित्न सक्दैन भन्ने खालको भाष्य बन्थ्यो। तर, अहिले फुटबल पूर्ण रूपमा टिम गेम र साइन्समा आधारित छ। अहिले कुनै एक खेलाडी मात्र होइन, पूरै टिम चम्कनुपर्छ र टिमले रणनीतिक रूपमा खेल्नुपर्छ।
यस विश्वकपमा नयाँ र तुलनात्मक रूपमा साना टोलीहरूले स्थापित पावरहाउसहरूलाई कडा चुनौती दिइरहेका छन्। उनीहरूको यो सफलताको आधार के होला?
यसको मुख्य कारण विज्ञान र प्रविधिको पहुँच सबै देशमा पुग्नु हो। पहिले पहिलो पटक विश्वकप खेल्न आएका राष्ट्रहरूसँग आधुनिक प्रशिक्षण र प्रविधिको अभाव हुन्थ्यो।
तर अहिले उनीहरूले पनि प्रविधि र प्राविधिक विश्लेषणको प्रयोग गर्न थालेका छन्। विश्वका ठूला पावरहाउस मानिने टिमहरूको डेटा एनालाइसिस गरेर उनीहरू विरुद्ध रणनीति बुन्छन्। उनीहरूको जत्तिको फिटनेस लेभल बनाएर विश्वकपमा छनोट भइसकेपछि साना टिमले उत्कृष्ट प्रदर्शन गर्नु स्वभाविकै हो।
दोस्रो कुरा, अहिले सामाजिक सञ्जाल र अन्य सूचना प्रविधिको सजिलो पहुँच छ।
तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा, देश सानो भए पनि उनीहरूका खेलाडीहरू युरोपका शीर्ष लिगहरू जस्तै प्रिमियर लिग, बुन्डेसलिगा आदिमा खेलिरहेका छन्। त्यही उच्च स्तरको अनुभव लिएर मैदानमा उत्रिँदा उनीहरूले ठूला पावरहाउसलाई कडा चुनौती दिन सकेका हुन्।
फुटबल विकास वा नतिजामा देशको जनसंख्याले कत्तिको फरक पार्छ?
जनसंख्याले एउटा कुरामा चाहिँ सहयोग गर्छ- त्यो हो रंगशालामा दर्शकको उपस्थिति। तर, खेलको गुणस्तर र विश्वकप यात्रामा यसले ठूलो असर पार्दैन।
उदाहरणका लागि, डेढ लाख जनसंख्या भएको कुरासाओ जस्तो देश विश्वकप खेल्ने स्तरमा पुगिसक्यो र पुराना टोलीलाई चुनौती दिइरहेको छ। तर डेढ अर्ब जनसंख्या भएका भारत र चीन अझै विश्वकपमा छनोट हुन सकेका छैनन्। त्यसैले फुटबलको हकमा धेरै जनसंख्या हुँदैमा नतिजा राम्रो आउँछ भन्नु भ्रम मात्र हो।
विगतमा इटालीले डिफेन्स बलियो बनाउने नीति लियो। २०१४ मा इरानले अर्जेन्टिना विरुद्ध त्यस्तै डिफेन्सिभ रणनीति अपनाएको थियो। अहिले नयाँ टोलीहरूले पनि ‘लो-ब्लक’ डिफेन्स गरेर काउन्टर अट्याक गर्ने गरेको देखिन्छ। यसलाई दर्शकले कसरी बुझ्ने?
अचेल कमजोर मात्र होइन, ठूला टिमहरूले पनि ‘लो-ब्लक’ डिफेन्स र काउन्टर अट्याक खेलिरहेका छन्। अहिले फुटबलमा रिस्क लिन कोही चाहँदैनन्।
इटालीले सुरु गरेको कम्प्याक्ट डिफेन्सिङको रणनीतिलाई अहिले 'हाइब्रिड' रूपमा प्रयोग गरिन्छ, जहाँ बल खोस्ने बित्तिकै तीव्र गतिमा काउन्टर अट्याक गरिन्छ।
अस्ट्रेलिया र टर्कीको खेललाई हेरौँ, अस्ट्रेलियाले ५-४-१ को पूर्ण लो-ब्लक रणनीति खेल्यो र काउन्टर अट्याकमार्फत दुई गोल गर्दै टर्कीलाई २-० ले हरायो।
दर्शकहरूले यसलाई बोरिङ भन्न सक्लान्, तर प्रशिक्षक र टिमका लागि नतिजा निकाल्ने यो एउटा महत्त्वपूर्ण हतियार हो। ठूला टोलीहरूले यस्तो लो-ब्लक डिफेन्स तोड्न ड्रिबलरहरू, लामो थ्रो वा सर्ट कर्नर जस्ता विशेष प्याटर्नहरू प्रयोग गर्छन्।
चार पटकको विजेता इटाली पछिल्ला विश्वकपमा देखा पर्न सकेको छैन। इटालीको फुटबल साँच्चै खस्किएको हो?
इटालीमा ट्यालेन्टको खडेरी भएको होइन। तर युरोपको क्वालिफिकेसन साइकल यति कठिन र अप्रत्याशित हुन्छ कि कुन टिम कुन बेला बाहिरिन्छ भन्न सकिँदैन।
प्लेअफमा पुगेपछि जोखिम झन् बढ्छ। अजरबैजान, म्यासेडोनिया जस्ता साना टोलीहरूले पनि बलियो विकास योजना ल्याएर आफूलाई स्थापित गरिसकेका छन्। त्यसैले युरोपेली फुटबलमा थोरै मात्र गल्ती भयो भने इटाली जस्तो टिम पनि बाहिरिन सक्छ।
पहिला नर्वे पनि राम्रो खेल्थ्यो तर २६/२७ वर्षपछि अहिलेको विश्वकपमा मात्र आएको छ। अहिले युरोपियन फुटबल एकदमै प्रतिस्पर्धात्मक भएको छ। अब साना टिमहरूले पनि राम्रो डेभलपमेन्ट प्लान गरिराछन्। यसले अझै टफ हुनेछ।
सन् २०१० मा स्पेनले खेलेको चर्चित ‘टिकी-टाका’ शैली लामो समय टिक्न सकेन। यो नचल्नुको कारण के हो?
२००८ मा टिकी-टाका बार्सिलोनामा थियो। त्यही स्पेनमा समेत आयो। फुटबलमा जतिबेला पनि नयाँ फर्मेसनको विकास हुन्छ र त्यसलाई विफल पार्न अर्को रणनीति तयार पारिन्छ। त्यसैले स्पेनले टिकिटाका फेर्नुपर्यो।
छोटा-छोटा र छिटो पास खेल्दै, बललाई आफ्नो नियन्त्रणमा राखेर विपक्षीको डिफेन्स तोड्ने शैलीलाई ‘टीकी-टाका’ शैली हो
सन् २००८ देखि २०१२ सम्म स्पेनमा चलेको टिकी-टाका पछि ‘गिगन प्रेसिङ’ अर्थात काउन्टर अट्याक शैली आयो। त्यसलाई उनीहरूले धेरै समय खेल्नै सकेनन्। अर्को चाहिँ जोनल मार्किङ हो यसले पनि टिकी-टाकालाई फेज आउट गर्यो।
मैदानमा कुनै एक निश्चित खेलाडीको पछि लाग्नुको सट्टा आफ्नो एरियामा बसेर त्यस एरियाभन्दा भित्र बल प्रवेश गर्न नदिनु नै जोनल मार्किङ शैली हो।
स्पेनसँग त्यो शैली खेल्ने पुरानो पुस्ता पनि रहेन। अहिले स्पेनले टिकी-टाका त खेल्छ, तर त्यो २०१० को जस्तो शुद्ध नभएर काउन्टर अट्याक फुटबलसँग मिसाइएको हाइब्रिड शैली हो।
ब्राजिलविरुद्धको खेलमा मोरक्कोले एकदमै फास्ट गेम खेल्दा ब्राजिल एकदम स्लो थियो। केही देश बाहेक दक्षिण अमेरिकाको खेल हेर्दा स्लो नै देखिन्छ। टेक्निकै हो कि वा उसले फास्ट खेल्न नसकेको हो?
ब्राजिल फुटबलको महाशक्ति हो, उनीहरू जुनसुकै शैलीमा खेल्न सक्छन्।
विगतको उनीहरूको ‘साम्बा स्टाइल’ हेर्न आकर्षक भए पनि त्यसले विश्वकप जिताउन छोडेपछि ब्राजिलले आफ्नो प्याटर्न नै परिवर्तन गरेको छ।
अहिले ब्राजिलले इटालियन ट्याक्टिसियन कार्लो एन्सेलोटी जस्ता युरोपेली प्रशिक्षक भित्र्याएर युरोपेली ट्याक्टिसमा अपडेट हुन खोजिरहेको छ।
कार्लो युरोपियन फुटबलको एकदमै चर्चित प्रशिक्षक हुन्। ब्राजिलले जसरी पनि यसपाली विश्वकप जित्नको लागि वा टप पर्फम गर्नकै लागि उनलाई प्रशिक्षक राखेको हो।
अब, मोरक्को जस्ता टिमहरूको कुरा गर्दा। उनीहरूको टिममा अहिले अहिले युरोपका शीर्ष लिग खेल्ने खेलाडीहरूको बाहुल्यता छ, जसले गर्दा उनीहरूको पेस उच्च देखिन्छ।
हुन त ब्राजिलमा पनि पेस नभएको हैन, छ। तर, एउटै खेलले टोलीको मूल्याङ्कन गर्नु गलत पनि हुन्छ। कहिलेकाहिँ विपक्षी टिम पेसमा खेल्न रमाउने छ भने प्रशिक्षकहरूले खेललाई स्लो बनाएर ट्याक्टिकल मुभ खेल्छन्।
अब फ्यानका कुरा गरौँ, नेपालमा अर्जेन्टिना र ब्राजिलका समर्थकहरू धेरै हुनुको कारण के होला?
नेपालमा सन् १९८६ को विश्वकप पहिलो पटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो, जुन अर्जेन्टिनाले जितेको थियो। म्याराडोनाको जादुले गर्दा धेरै नेपाली अर्जेन्टिनाका फ्यान बने।
ब्राजिलको हकमा भने उसको ऐतिहासिक साख, पेले र पछि आएका असाधारण सुपरस्टारहरूको व्यक्तिगत कौशल र आकर्षक शैली नै मुख्य कारण हो।
कंगो जस्ता आर्थिक रूपमा कमजोर देशहरू विश्वकपमा पुगिसके, तर नेपाल अझै संघर्षरत छ। नेपालमा फुटबल विकास हुन नसक्नुको मुख्य कारण के हो?
हामीले फुटबलको फाउन्डेसनमा काम नै गरेका छैनौँ। पूर्वाधार, खेलाडी विकास, अन्तर्राष्ट्रिय एक्स्पोजर र कोचिङ शिक्षामा ध्यान दिइएको छैन।
नेपालमा प्रतिभाको कमी छैन, तर उनीहरूलाई सिकाउने र सघाउने सही प्लेटफर्म छैन। हामी विश्वका अन्य देशहरूभन्दा प्रविधि, पूर्वाधार र व्यवस्थापनमा ८० देखि १०० वर्ष पछाडि छौँ।
यस्तो अवस्थामा नेपाल विश्वकपमा छनोट हुन्छौँ जस्तो मलाई लाग्दैन। अहिलेका लागि त त्यो दिवास्वप्न जस्तै हो।

कुनै समय हामी भुटानलाई दोहोरो अंकको गोलले सजिलै हराउँथ्यौँ। तर आज भुटानले ग्रासरुट र खेलाडी विकासमा दीर्घकालीन योजनाका साथ काम गरिरहेको छ।
हामी भने सधैँ कमजोर सावित भइरहेका छौँ। साफ च्याम्पियनसिपको फाइनल पुग्न हामीले दशकौँ कुर्नुपर्छ।
जबसम्म सरकार, एन्फा र सरोकारवालाहरूले फुटबलको जग सुधार गर्न लगानी गर्दैनन्, तबसम्म हाम्रो फुटबल माथि उठ्न सक्दैन।
एन्फालाई फिफा र सरकारबाट ठूलो बजेट आए पनि ग्रासरुट र भौतिक पूर्वाधारको अवस्था नाजुक छ। यसमा कसको कमजोरी देख्नुहुन्छ?
फुटबल विकासका लागि फ्यान, पूर्वाधार, युवा फुटबल र उच्च तहको व्यवस्थापन सबैको तालमेल चाहिन्छ। नेपालमा घरेलु लिग नभएको हजार दिनभन्दा बढी भइसक्यो।
५ सय दिनमा भुटानले दुईवटा लिग सकिसक्दा हाम्रोमा हजार दिनसम्म पनि लिग हुन नसक्नु दुर्भाग्यपूर्ण हो। यसमा एन्फा मात्र होइन, क्लब र सरकार सबै जिम्मेवार हुनुपर्छ।
हामीसँग लिग चलाउने सामान्य पूर्वाधार भए पनि इच्छाशक्तिको कमी छ। दक्षिण एसियामा कुनै समय हामी बलियो थियौँ, तर अहिले हाम्रा उत्कृष्ट खेलाडीहरू भविष्य नदेखेर विदेश पलायन भइरहेका छन्। हामी भने खेल विकासमा भन्दा फुटबलको राजनीतिमा बढी रमाइरहेका छौँ।
अब अन्त्यमा, यस विश्वकपमा तपाईंको समर्थन कसलाई छ?
मेरो व्यक्तिगत समर्थन पोर्चुगललाई छ। साथै एसियाली भएकाले जापान र दक्षिण कोरियालाई पनि म सपोर्ट गर्छु।
पोर्चुगलको खेललाई कसरी विश्लेषण गर्नुहुन्छ?
इतिहास हेर्दा सधैँ बलियो मिडफिल्ड भएको टिमले नै विश्वकप जितेको छ। २०२२ को अर्जेन्टिना, २०१८ को फ्रान्स, २०१४ को जर्मनी वा २०१० को स्पेन- सबैको मिडफिल्ड उत्कृष्ट थियो।
यसपटक पोर्चुगलसँग जाओ नेभेस, भिटिन्हा र ब्रुनो फर्नान्डेज जस्ता च्याम्पियन्स लिग र प्रिमियर लिगमा उत्कृष्ट लयमा रहेका खेलाडीहरू छन्।
डिफेन्सदेखि मिडफिल्डसम्मको सन्तुलन र सुपरस्टार क्रिस्टियानो रोनाल्डोको उपस्थिति भएकाले यसपालि पोर्चुगलसँग विश्वकप जित्ने सबैभन्दा सुनौलो अवसर छ।
तर रोनाल्डोले पछिल्लो खेलमा जम्मा २५ पटक मात्र बल छुन पाए। यसलाई कसरी लिनुहुन्छ?
फुटबलमा सबै खेलाडी सधैँ चल्न सक्दैनन्। यो मेस्सी वा रोनाल्डो दुवैमा लागू हुन्छ। कुनै एउटा खेल खराब हुँदैमा खेलाडी सकियो भन्न मिल्दैन। उहाँले आगामी खेलहरूमा पक्कै सुधार गर्नुहुनेछ।
यदि टिमले आफ्नो कमजोरी सुधार गरेन भने सुपरस्टारहरूको टोली पनि छिट्टै बाहिरिन सक्ने जोखिम उत्तिकै रहन्छ।
असार ९, २०८३ मंगलबार १०:३२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।