रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक सम्बन्धी नियम जारी

रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक सम्बन्धी नियम जारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको तेस्रो दिन आजदेखि बन्द सत्र सुरु हुँदैछ। बन्द सत्रसँगै नयाँ नेतृत्वका लागि उम्मेदवारी दिने आकांक्षीहरूको तयारी तीव्र बनेको छ।

यसै सन्दर्भमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवार मनोनयन फारम दर्ता गर्दा पालना गर्नुपर्ने प्रस्तावक र समर्थक सम्बन्धी नियमहरू सार्वजनिक गरेको छ।

निर्वाचन आयोगका प्रमुख भुवन के.सी. द्वारा जारी सूचना अनुसार विभिन्न पदका उम्मेदवारहरूका लागि प्रस्तावक र समर्थकको संख्या र योग्यता यसप्रकार तोकिएको छ।

पार्टी सभापति पदका लागि मनोनयन फारम दर्ता गर्दा १ जना प्रस्तावक र ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य रूपमा हुनुपर्नेछ।

पार्टी पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि मनोनयन फारम दर्ता गर्दा १ जना प्रस्तावक र २१ जना समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य गरिएको छ।

यसका अलावा कुनै पनि पदका उम्मेदवारको एक प्रस्तावकले एकभन्दा बढी उम्मेदवारको मनोनयन फारममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न पाउने छैन।

त्यसैगरी समर्थकका हकमा भने एक जना समर्थकले एकभन्दा बढी उम्मेदवारको फारममा समर्थकका रूपमा हस्ताक्षर गर्न पाउनेछन्।

प्रस्तावक वा समर्थक बन्ने व्यक्तिको नाम महाधिवेशन प्रतिनिधिको सूचीमा अनिवार्य रूपमा हुनुपर्नेछ भने कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बनेको व्यक्ति आफैँ उम्मेदवार बन्न पाउने छैन।

निर्वाचन आयोगले यी नियमहरू विपरीत दर्ता हुन आएका उम्मेदवार मनोनयन फारमहरू स्वतः अमान्य (खारेज) हुने स्पष्ट पारेको छ। महाधिवेशनको बन्द सत्रका कार्यक्रमहरू चितवनको उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेका छन्।

असार ९, २०८३ मंगलबार ०९:१०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।