रास्वपा महाधिवेशन : प्रतिनिधिको भद्रगोलले बन्दसत्रै भएन, पदाधिकारीमा रवि-बालेन र विवेकशील समूहको दाबी
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत सोमबार दिनभर प्रहसन जस्तै बनेको बन्दसत्र प्रतिनिधिलाई नौ घण्टा कुराएर अन्ततः स्थगित भयो। सोमबार बिहान ९ बजे बन्दसत्र सुरु हुने भनियो। पहिला डेढ घण्टा, त्यसपछि थप एक घण्टा गर्दै समय सारेको सार्यै गरेर अन्तमा स्थगित गरियो।
सोमबार पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता मनिष झाले महाधिवेशन प्रतिनिधिहरूको संख्या सोचेभन्दा बढी भएकाले तयारीमा कमजोरी भएको स्वीकारे। उनले नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्यासमेत एकिन नभएको स्विकारे। उनका अनुसार सुरुमा ३ हजार प्रतिनिधि होलान् भन्ठानेकोमा संख्या धेरै भयो।
तर यसको कारण प्रतिनिधि सङ्ख्याको अन्योल मात्र देखिएन। महाधिवेशन आयोजक समितिमा नरहेका रास्वपाका सांसदहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानको व्यवस्था भए पनि सांसदहरूकै नाम प्रतिनिधिमा भेटिएन। त्यसमा जेनजीको प्रतिनिधित्व नभएको भन्दै विरोध भएपछि पनि प्रतिनिधि चयनमा अन्योल बढेको देखियो।
रास्वपामा महाधिवेशन सुरु भएदेखि नै मधेस सबैभन्दा चुनौती बनेको थियो। विवादका कारण मधेसका जिल्लामा जिल्ला र प्रदेशको निर्वचन हुनै सकेन। महाधिवेशनमा पनि सबैभन्दा ठूलो विवाद मधेसकै देखियो। मधेसबाट महाधिवेशन प्रतिनिधिमा नाम परेकाहरू विरुद्ध सबैभन्दा धेरै उजुरी परेको आयोगका एक सदस्यले जानकारी दिए। जेनजी समूहका कारण समेत प्रतिनिधि छान्न समितिलाई अप्ठ्यारो भइरहेको देखियो।
९९ सिट तर जो भेट्यो उही आकांक्षी
महाधिवेशनको उद्घाटनमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहले गुट नबनाउन चेतावनी त दिए। तर पार्टीको नेतृत्वमा पुग्ने आकाङ्क्षीहरूमा त्यो चेतावनीको प्रभाव देखिएन।
उम्मेदवारीको तयारीमा क्षेत्रीय र संस्थापन र नयाँको चर्चा बन्दसत्र स्थल वरपर प्रस्टै देखिन्थ्यो। प्रतिनिधि चयन नभई उम्मेदवारी घोषणा गर्न नपाइने नेताहरूले चेतावनी दिइरहेका छन्। तर उम्मेदवारका आकांक्षी होटल धाएर प्रतिनिधि फकाउन व्यस्त छन्। अरू त अरू पार्टी प्रवक्ता ले नै सोमबार महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
रास्वपाले पहिलो चरणमा पदाधिकारीमा सभापति र केन्द्रीय सदस्यका लागि मात्र चुनाव हुने व्यवस्था गरे पनि उम्मेदवारका आकाङ्क्षीहरूको संख्या अधिक देखियो। सभापतिमा रवि लामिछाने एकल उम्मेदवार देखिएका छन्। सभापतिमा उम्मेदवार बन्न त्यति सहज पनि छैन। त्यसका लागि ५१ जना समर्थक, १ जना प्रस्तावकसँगै ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ।
विधान अनुसार अन्य पदाधिकारी हुन केन्द्रीय सदस्य हुनुपर्ने प्रावधान छ। यसले केन्द्रीय सदस्य हुने आकाङ्क्षीहरूको संख्या हजार हाराहारी देखिन्छ। केन्द्रीय समिति १५८ सदस्यीय भए पनि ९९ पदका लागि मात्र निर्वाचन हुनेछ। तर महाधिवेशनस्थलमा जो भेटिए पनि केन्द्रीय सदस्यको उम्मेदवार भनेर प्रचार गरिरहेका थिए। उम्मेदवारको आकाङ्क्षीको संख्या एकिन गर्नै हम्मे देखियो।
पदाधिकारीमा प्रस्ट तीन समूह
समूह नबनाउनु भने पनि पदाधिकारीमा प्रस्ट तीन समूह देखिए। रास्वपामा फागुन २१ को निर्वाचन अगाडि विवेकशील साझा, थरुहट, बालेन शाह समूह र हामी नेपाल पार्टी (खगेन्द्र सुनार) समायोजन भएका थिए। यो बिचमा अन्य पार्टी छाडेर रास्वपा प्रवेश गर्नेहरूको संख्या पनि बाक्लै छ।
तर पदाधिकारीका आकांक्षी हेर्दा प्रस्ट तीन समूह देखियो। पार्टी संस्थापन समूह अर्थात् रवि समूहबाट महामन्त्रीमा तीन आकांक्षी देखिइसकेका छन्। मनिष झाले सोमबार जे नतिजा आए पनि आफू महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। कवीन्द्र बुर्लाकोटी र विपिन आचार्य समेत स्वाभाविक रूपमा महामन्त्रीको उम्मेदवार देखिएका छन्।
बालेन समूहबाट पदाधिकारीमा धेरै आकांक्षी देखिएका छैनन्। उनी निकट दुई जना भूपदेव शाह महामन्त्रीमा र सुनिल लम्साल सह-महामन्त्रीका आकांक्षी देखिएका छन्। विवेकशील साझा समूहबाट समीक्षा बाँस्कोटाले महिला उपसभापतिमा दावेदारी पेस गरिरहेकी छिन्।
विवेकशील साझामा महामन्त्री रहेकी रञ्जु दर्शनाले पद खुलाएकी छैनन्। तर उनी सम्भव भए महामन्त्री नत्र सह महामन्त्रीको तयारीमा देखिएकी छिन्। पुकार बम पनि महामन्त्री वा सहमहामन्त्रीको तयारीमा छन्।
थरुहट र खगेन्द्र सुनारको समूहबाट पदाधिकारीमा दावेदारी देखिएको छैन। तर जेनजीको प्रतिनिधि बनेर सुधन गुरुङले पनि पदाधिकारीमा चासो राखिरहेको एक नेताले बताए। ती नेताका अनुसार सुधनले निरन्तर केन्द्रीय समितिको मनोनीत कोटामा जेनजीहरु नै हुनु पर्ने भनेर महाधिवेशनमा दबाब बढाइरहेका छन्।
असार ९, २०८३ मंगलबार ०१:०२:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।