एमालेले भन्यो : उपाध्यक्ष पौडेलको पक्राउ सत्ताको उन्माद र नाङ्गो प्रतिशोधको पराकाष्ठा
काठमाडौं : एमालेले उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतमा पार्टीको कार्यक्रममा सहभागी भइरहेकै बेलामा पक्राउ गरिएको घटनाको भर्त्सना गरेको छ।
सोमबार एक प्रेस वक्तव्य जारी गरेर अध्यक्ष केपी शर्मा ओलीले पोखरेलको पक्राउलाई गैरकानुनी र अधिनायकवादी कदमको संज्ञा दिए। अपहरणकारी शैलीमा गिरफ्तार गरिएको भन्दै उनले यसलाई वर्तमान सत्तापक्षको अराजनीतिक र नांगो प्रतिशोधको पराकाष्ठा भनेका छन्।
उनले भनेका छन्, "एमाले सदैव कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ। वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हो। यो दमनकारी कदम म र हाम्रो पार्टी एमालेमाथि लगातार भइरहेका श्रृंखलाकाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ।"
ओलीले पूर्वनिर्धारित तालिका अनुसार भोलिपल्टै काठमाडौं फर्कने तयारीमा रहेका नेतालाई नियन्त्रणमा लिनु स्टन्ट र सस्तो राजनीतिक खपत भएको भनेका छन्। उनले विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता प्रतिशोधपूर्ण कार्य तत्काल बन्द गर्न चेतावनी समेत दिए।
उनले भनेका छन्, "सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो 'स्टन्ट' र सस्तो राजनीतिक खपतका लागि बदनियत पूर्वक गिरफ्तार गरिएको छ। सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ।"
साथै, सरकारको स्वेच्छाचारी र लोकतन्त्र विरोधी क्रियाकलापका विरुद्ध एकजुट भएर सामूहिक प्रतिवाद उत्रिन ओलीले आह्वान गरेका छन्। सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा सुर्खेत प्रहरीले पुनर्गठन अभियानका लागि सुझाव संकलन गर्न सुर्खेतका पौडेललाई शुभ होटलबाट पक्राउ गरेको थियो।
उनलाई सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न विभागले सोमबारै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पत्र पठाएको थियो। पत्रमा पौडेल विरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको र उनी सुर्खेतमा भएको जानकारी आएकाले पक्राउ गरेर विभागमा बुझाउन भनिएको छ।

असार ८, २०८३ सोमबार २१:५६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।