के आधारमा समातिएका हुन् विष्णु पौडेल ? यस्तो छ प्रहरीको पत्र
सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतको पत्र अनुसार सम्पत्ति शुद्धीकरण विभागले एमाले नेता विष्णु पौडेललाई पक्राउ गर्न सोमबारै पत्र पठाएको खुलेको छ। उकेराले प्राप्त गरेको पत्रमा उल्लेख भए अनुसार विभागले सोमबार प्रहरीलाई इमेल गरेर पक्राउ पुर्जीसहितको पत्र पठाएको थियो।
सो पत्रमा ‘पूर्व अर्थमन्त्री समेत रहेका रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका वडा नं. ९, हाल ललितपुर महानगरपालिका सैबु आवास आयोजनामा बसोबास गर्ने विष्णु प्रसाद पौडेलका नाउँमा विभागबाट सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका सिलसिलामा जारी भएको पक्राउ पुर्जी संलग्न राखी पठाइएको’ भन्दै पक्राउ गरेर विभागमा बुझाउन भनिएको छ।
प्रहरीको पत्रमा उल्लेख भए अनुसार विभागको पत्र अनुसार सोमबार साँझ ५:१५ बजे सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ मा शुभ होटलमा फेला परेको उल्लेख छ।
पत्रमा विभागबाट जारी भएको जरुरी पक्राउ पुर्जी दिई कानुनको रित पुऱ्याई पक्राउ गरेर आवश्यक कारबाहीको लागि सक्कलै कागजात सहित कार्यालयमा कार्यरत प्रहरी निरीक्षकबाट जिम्मा लगाई पठाएको उल्लेख छ।
पौडेल एमाले पुनर्गठन अभियान अन्तर्गतको कार्यक्रममा सहभागी हुन आइतबार सुर्खेत पुगेका थिए। शुभ होटलमा एमाले कर्णाली प्रदेश तहको भेलामा पार्टी पुनर्गठन सम्बन्धी सुझाव लिएर उनी शुभ होटेलमै बसेको बेलामा प्रहरीले नियन्त्रणमा लिएको हो।
पौडेल यस अगाडि बालुवाटारमा रहेको सरकारी जग्गा आफ्नो छोराको नाममा पास गराएको प्रकरणमा तानिएका थिए। सोको अनुसन्धानकोक्रममा अख्तियारले जग्गा किन्नेहरूलाई समेत प्रतिवादी बनाए पनि पौडेल र सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको हकमा भने जग्गा फिर्ता गर्न मन्जुर भएको बहाना बनाएर प्रतिवादी बनाएको थिएन।
सम्बन्धित समाचार
असार ८, २०८३ सोमबार २०:४४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।