बालुवाटार जग्गा प्रकरणमा उन्मुक्ति पाएका पौडेल सम्पत्ति शुद्धीकरणमा सुर्खेतको शुभ होटेलमै समातिए
सुर्खेत : सुर्खेतको शुभ होटलमा पार्टीको कार्यक्रममा सहभागी भइरहेकै बेलामा प्रहरीले एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेर प्रहरी कार्यालय लग्यो। सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा सुर्खेत प्रहरीले उनलाई पार्टीको कार्यक्रमका लागि होटलमा रहेकै बेलामा पौडेललाई पक्राउ गरेको हो।
पौडेललाई सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न विभागले सोमबारै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पत्र पठाएको थियो। पत्रमा पौडेल विरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको र उनी सुर्खेतमा भएको जानकारी आएकाले पक्राउ गरेर विभागमा बुझाउन भनिएको थियो।
विभागले जिल्ला प्रहरी कार्यालयमा इमेलबाट पक्राउ पुर्जीसहितको पत्र पठाएपछि साढे पाँच बजे सुर्खेत प्रहरी होटलमा पुगेर उनलाई नियन्त्रणमा लिएर प्रदेश प्रहरी कार्यालयमा बुझाएको छ।
एमाले पुनर्गठन अभियानका लागि सुझाव संकलन गर्न उनी आइतबार सुर्खेत आएका थिए। त्यसका लागि उनी शुभ होटलमा बसेका थिए। उनीसँगै एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा र पृथ्वीसुब्बा गुरुङ पनि सुर्खेत आएका थिए।
सोमबार दिउँसो पुनर्गठन सम्बन्धी सुझाव संकलनका लागि वीरेन्द्रनगरको शुभ होटलमै कार्यक्रम राखिएको थियो। कार्यक्रममा एमाले कर्णालीका इन्चार्ज यामलाल कँडेलदेखि प्रदेश तहका नेता पनि सहभागी थिए। तर पुनर्गठन सम्बन्धी सुझाव संकलनकैक्रममा पौडेल आफै प्रहरी नियन्त्रणमा पुगे।
पटक पटक अर्थमन्त्री भएका पौडेल यस अगाडि बालुवाटारको सरकारी जग्गा प्रकरणमा जोडिएका थिए। उनको छोराको नाममा बालुवाटारमा ८ आना जग्गा रहेको खुलेको थियो। अन्य जग्गा धनीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाए पनि उनी र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई भने जग्गा फिर्ता गरेको बहानामा उन्मुक्ति दिइएको थियो।
असार ८, २०८३ सोमबार २०:१६:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।