रास्वपा महाधिवेशन : प्रतिनिधि टुङ्गो नलाग्दा सोमबारको बन्दसत्र स्थगित

रास्वपा महाधिवेशन : प्रतिनिधि टुङ्गो नलाग्दा सोमबारको बन्दसत्र स्थगित

चितवन : चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत सोमबारका लागि तय गरिएको बन्दसत्र प्रतिनिधि छनोटको विवादको कारणले स्थगित भएको छ। 

सोमबार बिहान साढे ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र प्रतिनिधिको अन्तिम नामावली टुंगो लाग्न नसक्दा मंगलबार बिहानसम्मका लागि सारिएको छ।

महाधिवेशन प्रतिनिधिको नामावलीमा देखिएका त्रुटि सच्याउन र परिचयपत्र वितरण गर्न समय लागेकाले सोमबारको कार्यतालिका प्रभावित भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। 

आयोगका सदस्य गोकुल सापकोटाका अनुसार प्रतिनिधिहरूको नामावलीमा प्राविधिक समस्या देखिएपछि आयोगले बन्दसत्र स्थगित गर्ने निर्णय गरेको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगले हिजो ४ हजार २११ जना प्रतिनिधिको नामावली प्रकाशन गरेको थियो।

पार्टी प्रवक्ता मनिष झाले पहिलो महाधिवेशन भएकाले व्यवस्थापनमा केही कमजोरी भएको स्वीकार गरे। विशेषगरी मधेश प्रदेशका प्रतिनिधिको विषयमा उजुरी परेको र केही सांसदहरूको समेत नामावली छुटेकाले त्यसलाई सच्याउने कार्य भइरहेको बताइएको छ। 

यसअघि आइतबार पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले महाधिवेशनको संयुक्त रूपमा उद्घाटन गरेका थिए। सोमबार बन्दसत्रका लागि बिहानैदेखि हलमा पुगेका प्रतिनिधिहरू कार्यक्रम स्थगित भएपछि अन्योलमा परेका छन्। 

असार ८, २०८३ सोमबार १८:३२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।