रास्वपा महाधिवेशन : प्रतिनिधि टुङ्गो नलाग्दा बन्दसत्रमा ढिलाइ

रास्वपा महाधिवेशन : प्रतिनिधि टुङ्गो नलाग्दा बन्दसत्रमा ढिलाइ

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्दसत्रमा ढिलाइ भएको छ। चितवनको भरतपुरमा बिहान साढे ८ बजे सुरु हुने भनिएको सत्र दिउँसो अबेरसम्म पनि सुरु हुन सकेको छैन।

बन्दसत्र सञ्चालनमा ढिलाइ हुँदा चितवन प्रदर्शनी केन्द्रमा भेला भएका प्रतिनिधिहरू यति बेला अन्योलपूर्ण अवस्थामा प्रतीक्षा गरिरहेका छन्। परिचयपत्र भिरेर हलभित्र-बाहिर गर्ने र खानपानमै दिन बिताइरहेका उनीहरूलाई भरतपुरको चर्को गर्मीमा एसीसहितको सुविधा भएको हलले केही राहत दिलाएको छ।

सुरुमा प्राविधिक कारणले ढिलाइ भनिए पनि हाल प्रतिनिधिको सूचीमा देखिएका त्रुटि सच्याउने र नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया चलिरहेकाले कार्यक्रम प्रभावित हुन पुगेको भनिएको छ। 

पार्टी प्रवक्ता मनिष झाले प्रतिनिधिको नामावली रुजु गर्ने र छुटेका नामहरू समावेश गर्ने प्रक्रिया चलिरहेकाले बन्दसत्र सुरु हुन ढिलाइ भएको जानकारी दिए। उनका अनुसार मधेस प्रदेशसहितका केही जिल्लामा प्रतिनिधि छनोट नभइसकेकाले बन्दसत्र प्रभावित भएको हो।

कतिपय सङ्घीय सांसदहरू नै महाधिवेशन प्रतिनिधिमा नपरेका कारण पनि प्रतिनिधिको अन्तिम टुङ्गो लगाएर सूची सार्वजनिक गरिने तयारी छ। बन्दसत्र सुरु हुन ढिलो भएपछि सोमबार नै मनोनयन दर्ता गर्ने निर्वाचन तालिका प्रभावित भएको छ। बन्दसत्र सुरु नहुँदा पूर्वघोषित निर्वाचनका कार्यक्रमहरू अब पछाडि धकेलिने देखिएको छ।

असार ८, २०८३ सोमबार १६:०३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।