मत फेरेर मात्रै नहुने रहेछ भन्ने निष्कर्षमा जनता पुग्न थालेको कांग्रेस नेता आङ्देम्बेको दाबी

मत फेरेर मात्रै नहुने रहेछ भन्ने निष्कर्षमा जनता पुग्न थालेको कांग्रेस नेता आङ्देम्बेको दाबी

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको नेता भीष्मराज आङ्देम्बेले राजनीतिक दल वा मत परिवर्तनले मात्रै देशका विद्यमान समस्याहरू समाधान नहुने निष्कर्षमा आम नागरिक पुग्न थालेको बताएका छन्।

सोमबार इलाम नगरपालिकामा आयोजित नगर सभामा उनले नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षणले अपेक्षित परिणाम दिन नसकेको दाबी गरे। नागरिकमा सरकारप्रति असन्तुष्टि बढ्दै गएको आङ्देम्बेको भनाइ छ। 

उनले भने, “पार्टी परिवर्तन नै मत परिवर्तनको अभ्यास रहेछ तर त्यसले मात्रै समस्या समाधान नहुने रहेछ भन्ने निष्कर्षमा नेपाली जनता पुग्न थालेको अनुभूति भइरहेको छ।” विगतमा राजनीतिक दलहरूले जनविश्वासको सम्मान गर्न नसक्दा नै नागरिकहरू नयाँ दलतर्फ आकर्षित भएको पनि उनले स्वीकार गरे।

किसानहरू प्रताडित भइरहेको र अर्थतन्त्र गम्भीर मोडमा पुग्दा पनि राष्ट्र यसतर्फ संवेदनशील नभएको उनको भनाई थियो। सरकारलाई जनअपेक्षाअनुसार काम गर्न प्रतिपक्षी दलहरूले निरन्तर खबरदारी गरिरहेको उनले बताए।

असार ८, २०८३ सोमबार १५:२८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।