रास्वपाको महामन्त्रीमा झाको दाबी : 'परिणाम जेसुकै होस्, म भिड्न तयार छु'
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
पार्टीको जारी प्रथम राष्ट्रिय महाधिवेशनका दौरान उनले आफू महामन्त्रीको जिम्मेवारी, जोखिम र चुनौतीका लागि मानसिक रूपमा तयार रहेको बताए।
पार्टीको महाधिवेशनका क्रममा देखिएका व्यवस्थापकीय कम्जोरी देखिएकाले पार्टी सञ्चालनमा व्यवस्थापकीय अनुभवको आवश्यकता महसुस गरिएको उल्लेख गर्दै उनले आफूलाई त्यसको लागि उपयुक्त पात्रको रूपमा प्रस्तुत गरे।
उनले भने, "महामन्त्रीमा दाबी भनेको सामान्य कुरा होइन। यो ठूलो जिम्मेवारी हो, ठूलो चुनौती हो। त्यसको लागि कोही राजनीतिक रूपमा तयार हुन्छ कि हुँदैन भन्ने कुरा ल सोचिहालौं न त, गरिहालौं भन्ने पनि हुँदैन। यसको लागि तपाईंले पर्याप्त सोच्नुपर्छ।"
आफ्नो व्यक्तिगत क्षमता र अहिलेसम्मको राजनीतिक यात्रालाई मूल्याङ्कन गरेर मात्रै यो निर्णयमा पुगेको बताउँदै उनले थपे, "पर्याप्त मानसिक रूपमा, व्यवस्थापकीय रूपमा, व्यक्तिगत क्षमताको आधारमा, अहिलेसम्मको यात्रा र पृष्ठभूमिको आधारमा तपाईं तयार हुनुहुन्छ कि हुनुहुन्न र तपाईं त्यो जिम्मेवारीको लागि, त्यो पदको लागि, त्यो जोखिमको लागि, त्यो चुनौतीको लागि, त्यो लक्ष्यको लागि तपाईं उपयुक्त पात्र हो कि होइन भन्ने कुरा पनि तपाईँले स्वयं मूल्याङ्कन गरेर मात्रै निर्णय गर्नुपर्छ।"
पार्टीभित्रको भावी योजना र नयाँ अभ्यासका लागि आफू तयार रहेको उल्लेख गर्दै उनले भने, "सबै जनाले सकारात्मक रूपमा भन्नुभयो कि तपाईं यो पदको लागि, यो जिम्मेवारी र चुनौतीको लागि उपयुक्त पात्र हुनुहुन्छ र अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीमा तिमीले जे गरेको छौ, त्यो कुराले पनि यो कुरालाई न्याय गर्छ।"
प्रतिस्पर्धाका लागि आफू प्रतिबद्ध रहेको दोहोर्याउँदै झाले भने, "तसर्थ, म त्यसको लागि आफू मानसिक रूपमा अब तयार भइसकेँ र परिणाम जे सुकै होस्, म भिड्नको लागि तयार छु।"
असार ८, २०८३ सोमबार १५:०५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।