रास्वपाको महाधिवेशनमा मासुभात

रास्वपाको महाधिवेशनमा मासुभात

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा आइतबारबाट सुरु भएको पहिलो महाधिवेशनका प्रतिनिधिलाई खुवाउने सूची अहिले चर्चामा छ। पार्टीको महाधिवेशनहरूमा प्रतिनिधिका लागि राखिने सूची भन्दा रास्वपाको खानाको सूची त्यति फरक छैन। तर रास्वपाको चर्चाको कारण हो अन्य दलका नेता तथा कार्यकर्तामाथि रास्वपाका नेता अनि कार्यकर्ताले अन्यका हकमा गर्ने ट्रोल र खिसीटिउरी।

रास्वपाका नेता र कार्यकर्ताले आफूहरू अन्य दलका नेता र कार्यकर्ता भन्दा भिन्न हौँ भन्ने देखाउन मासुभातलाई बलियो प्रतीकको रूपमा प्रयोग गरे। अन्य दलको महाधिवेशन हुँदा होस् या गत निर्वाचनमा उनीहरूले अन्य दलका कार्यकर्ता अनि समर्थकलाई मासुभात खान हिँडेको र त्यो मासु भातको पैसा भ्रष्टाचारको भन्दै निरन्तर ट्रोल गरे।

निर्वाचनको बेलामा त यसको गति निकै बढ्यो। उनीहरूले प्रतिस्पर्धी दलका कार्यकर्ता र समर्थकहरूलाई एकातिर झोले भनेर ट्रोल गरिरहे भने अर्कोतिर मासुभातको पछि लागेको भनेर खिसिट्युर पनि जारी राखे। अन्तमा पार्टीको पहिलो महाधिवेशनमा रास्वपाका नेता अनि कार्यकर्ताहरूले दलको झोला त बोकेकै छन् उनीहरूको सूचीमा पनि मासुभात परेको छ।

करिब ४ हजार प्रतिनिधि सहभागी महाधिवेशनको सूचीमा बिहान ७ बजेदेखि ब्रेकफास्ट, बिहानको खानामा मासुभात, दिउँसो हाइटी र बेलुकाको खाना सादा राखिएको छ। प्रतिनिधिहरूले बिहान खसीको मासु र भात खान पाउने छन्। यसका लागि दैनिक  ८ क्विन्टल खसीको मासु राखिएको छ। बेलुका भने मिक्स भेजको तरकारी राखिएको छ। उनीहरूका लागि खानाको जिम्मा दियालो फुडल्याण्ड  नारायणगढले पाएको छ।

खानाको सूचीबारे जानकारका अनुसार खानामा न्यूनतम पनि १० प्रकार राखिएको छ। त्यसमा खसीको मासु त भइनै गयो। त्यसमा पनिर, च्याउसँगै मौसम अनुसारको तरकारी पनि राखिएको छ। जिरा राइस, दाल, तरकारी, अचार, सलाद, दही सबै राखिएको छ। 

असार ८, २०८३ सोमबार १४:५२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।