सिन्धुलीमा पार्किङ गरिराखेको ट्याक्टर आफै गुड्दा किचिएर ५ वर्षीया बालिकाको मृत्यु

सिन्धुलीमा पार्किङ गरिराखेको ट्याक्टर आफै गुड्दा किचिएर ५ वर्षीया बालिकाको मृत्यु

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-८ करकरेमा पार्किङ गरेर राखिएको ट्याक्टर अचानक आफै गुडेर किच्दा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय गौरीशंकर थापाकी ५ वर्षीया छोरी शान्वी थापा रहेकी छन्।

प्रहरीका अनुसार हिजो (असार ७ गते) साँझ करिब ५:४० बजे घरभन्दा केही पर पार्क गरी राखिएको ना ६ त २५३४ नम्बरको ट्याक्टर अचानक आफै गुड्न पुगेको थियो।

विगत ४-५ दिनदेखि घरभन्दा करिब ८-१० मिटर पश्चिममा पार्किङ गरी राखिएको उक्त ट्याक्टर गुड्दा घर नजिकै रहेकी बालिका किचिएर गम्भीर घाइते भएकी थिइन्।

घाइते बालिकालाई उनकी ठूलोममी र ट्याक्टरका धनी विशाल श्रेष्ठले तत्कालै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्याएका थिए।

तर, उपचारकै क्रममा साँझ ६:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला अस्पतालमा कार्यरत प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु केसीको कमाण्डमा ५ जनाको टोली मुचुल्का र थप अनुसन्धानका लागि घटनास्थल पुगेको थियो। घटनास्थल इलाका प्रहरी कार्यालय भिमानबाट करिब ८ किलोमिटर उत्तरमा पर्दछ।

प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र ट्याक्टरका धनी स्थानीय विशाल श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।

ट्याक्टरलाई इलाका प्रहरी कार्यालय भिमान र धनी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नियन्त्रणमा राखिएको छ। फरार रहेका ट्याक्टर चालकको भने प्रहरीले खोजी कार्य तीव्र बनाएको छ।

असार ८, २०८३ सोमबार ११:०२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।