चितवनमा ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

चितवनमा ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

भरतपुर : चितवनको भरतपुर महानगरपालिका-१५ स्थित अतिथि पार्टी प्यालेस नजिकै गए राति भएको सवारी दुर्घटनामा परी दुई जना युवकको मृत्यु भएको छ।

भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकको पछाडि सोही दिशातर्फ जाँदै गरेको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो।

मृत्यु हुनेहरूमा चितवनको भरतपुर महानगरपालिका-२६ दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र लमजुङ घर भई हाल भरतपुर महानगरपालिका-२० बस्ने १९ वर्षीय राजिब गुरुङ रहेका छन्।

दुर्घटनामा परेर फेला परेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आधारमा उनीहरूको पहिचान खुलेको प्रहरीले जनाएको छ। मृतकमध्ये स्कुटर चालक को थिए भन्ने विषय भने अझै खुल्न सकेको छैन।

गए राति करिब १:४० बजे ना ५ ख ५८१६ नम्बरको ट्रकको पछाडि बा-प्र-०६-००४ प ७२४८ नम्बरको स्कुटर ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए।

उनीहरूलाई तत्कालै उद्धार गरी एम्बुलेन्स मार्फत भरतपुर सरकारी अस्पताल पठाइएकोमा उपचारकै क्रममा राति २:४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुवै शव हाल सोही अस्पतालमा राखिएको छ।

प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक मकवानपुरको राक्सिराङ गाउँपालिका-३ बस्ने २७ वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिएको छ।

चालक थोकरलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ भने दुर्घटनाग्रस्त स्कुटर इलाका प्रहरी कार्यालय फूलबारीको नियन्त्रणमा रहेको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय फूलबारीबाट प्रहरी नायब निरीक्षक विशाल लामाको कमाण्डमा प्रहरी टोली घटनास्थल खटिएको थियो।

दुर्घटनास्थल फूलबारी कार्यालयबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्दछ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असार ८, २०८३ सोमबार १०:५२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।