रास्वपा महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र, प्रतिवेदन प्रस्तुतिदेखि निर्वाचन प्रक्रियासम्मको यस्तो छ कार्यसूची
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज दोस्रो दिन बन्दसत्र सुरु हुँदैछ।
हिजो चितवनको भरतपुरमा उद्घाटन भएको महाधिवेशनको आजको बन्दसत्रमा विभिन्न सांगठनिक, आर्थिक तथा राजनीतिक प्रतिवेदनहरू प्रस्तुत गरी छलफल गर्ने र विधान संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।
पार्टी महामन्त्रीद्वारा सञ्चालन हुने आजको बन्दसत्र बिहान ८:३० बजे पार्टी सभापति रवि लामिछानेले प्रारम्भ गर्ने कार्यक्रम रहेको छ।
बन्दसत्रको सुरुवाती चरणमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले अनुशासन प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसलगत्तै पार्टीकी कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
बिहान १०:०० बजे पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरी त्यसमाथि छलफल चलाउने जनाइएको छ।
प्रतिवेदनहरूमाथिको छलफल सम्पन्न भएपछि पार्टीको नीतिगत र कानुनी संरचनामाथि केन्द्रित सत्र सुरु हुनेछ। जसअन्तर्गत सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव प्रस्तुत र अनुमोदनका लागि पेस गर्नेछन्।
त्यस्तै, पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाको अर्थ-राजनीतिक प्रस्तावना प्रस्तुत गर्ने कार्यतालिका छ। मध्याह्न १२:१५ बजे पार्टी सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएपछि सभापति रवि लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन्। सोही सत्रमा महाधिवेशन आयोजक समितिले आफ्नो सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यसूची रहेको छ।
दिउँसोको खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र तालिका सार्वजनिक गर्नेछ। त्यसपछि आयोगले तय गरेको तालिका अनुसार नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढ्ने रास्वपाले जनाएको छ।
असार ८, २०८३ सोमबार ०९:०३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।