बालेन सरकारबारे रविले भने "झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा मेरो"

बालेन सरकारबारे रविले भने

काठमाडौं : प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले परिआए पाँच घण्टा नभई पाँचै वर्ष संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सोधपुछ गर्ने भन्दै शक्ति पृथकीकरणको धज्जी उडाए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी शक्ति पृथकीकरण र लोकतन्त्रको पक्षमा रहेको बताए।

उनले शक्तिशाली हुनु भनेको दम्भ गर्ने र प्रतिशोध लिने लाइसेन्स नभएको भन्दै रास्वपाले त्यस्तो नगर्ने दाबी गरे।उनले शक्ति पृथकीकरणसँगै, लोकतन्त्र लगायतको जगेर्ना गर्ने भन्दै भने "ढुक्क हुनुहोस्, देश रास्वपाको हातमा छ, देश सुरक्षित छ।' उनले हिजोका आन्दोलनको अवमूल्यन नगर्ने भन्दै लोकतान्त्रिक मूल्य मान्यता अनुसार नै काम गर्ने बताए।

उनी सम्बोधनको अधिकांश समय रास्वपाको निर्वाचन केन्द्रित भए। पार्टीभित्र गुटको जन्म नहोस् भन्दै उनले भनिरहे 'रास्वपालाई यो जुनीमा रास्वपा बाहेक अन्य कसैले लडाउन सक्दैन।' उनले निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा हुने बताए।

उनले सरकार लडाउने र ढलाउने प्रयास हुने भन्दै रास्वपामा गरिएको सहमति इमानदारिताका साथ पालना गर्ने बताए। उनले सरकार सञ्चालनका निमित्त चुनाव अगाडि नै वरिष्ठ नेताको खुट्टामा बल दिइसकेको र अब गोल हान्ने जिम्मा वालेन्द्रको भएको बताए।

"झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा मेरो।"

उनले मुख मिठ्याउने र चुक्ली लगाउनेहरू धेरै भएको भन्दै पहिलो महाधिवेशन अगाडि नै यति धेरै जनमत पाएको पार्टी नभएको भन्दै यसको सदुपयोग गर्ने बताए। 

असार ७, २०८३ आइतबार १८:०४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।