नबोलौँ भन्यो बोल्ने दिन आइहाल्छ भन्दै वालेन्द्रले भने " सीमा र राष्ट्रियताबारे चिन्ता लिनु पर्दैन "
काठमाडौं : प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले राष्ट्रियताबारे आफूमाथि शंका नगर्न आग्रह गरे। उनले पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै भने'सीमाको बारेमा पनि चिन्ता लिनु पर्दैन। त्यो प्रमाणका लागि बेलायतलाई मध्यस्थकर्ता राख्न खोजेको हैन। मेरो राष्ट्रियताप्रति कसैले आशंका गर्नु पर्दैन।'
उनले आफ्नो सरकारको गाडी एक्सप्रेस वेमा रहेकाले बिचमा ब्रेक नलाग्ने दाबी गरे। महाधिवेशनमा शुभकामना दिनेक्रममा एमाले नेता प्रदीप ज्ञवालीले गाडीको उदाहरण दिँदै त्यसमा एक्सिलेटरसँगै ब्रेक पनि हुने भन्दै एक्सिलेटर मात्र थिच्दा दुर्घटना हुने बताएका थिए।
उनले ज्ञवालीलाई धन्यवाद दिँदै भने' सुझाव दिनुभयो। चिन्ता पनि गर्नुभयो। तर हाम्रो गाडी एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ।'
उनले सरकार निहुँ खोज्ने पक्षमा नभएको भन्दै तर निहुँ खोज्नु परे अगाडि बढ्दा निहुँ खोज्ने बताए। उनले सरकारी सम्पत्तिको दोहन भएको अवस्थामा निहुँ खोजिने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सोधपुछ गर्नु परे पाँच घण्टा मात्र नभई पाँच वर्ष सल्लाह गर्ने बताए।
उनले आफ्नो सम्बोधनमा पटक पटक शुभकामना व्यक्त गर्न आएका अन्य दलका नेताहरूलाई 'चिन्ता केही लिनु पर्दैन' भन्दै रास्वपाले सुकुमबासी समस्यादेखिका समस्याहरू यही कार्यकालमा समाधान गर्ने र अर्को निर्वाचनमा यी अजेन्डाहरु बोकेर नजाने दाबी गरे।
असार ७, २०८३ आइतबार १७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।