रास्वपा महाधिवेशनमा गगनले भने "हामी रास्वपाको दुस्मन हैनौँ, तर गलत काममा औँला उठाउन छाड्दैनौँ"
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी भए पनि दुस्मन नभएको बताए। रास्वपाको महाधिवेशनमा शुभकामना दिँदै उनले भने" नेपाली कांग्रेस रास्वपाको दुस्मन हैन प्रतिस्पर्धी हो। रास्वपाको उचाइ देखेर लोभ लाग्छ। हामी पनि यस्तै उचाइ पाउन चाहन्छौँ। तर रास्वपाको खुट्टा काटेर हैन। रास्वपालाई फोहोर देखाएर हैन।"
उनले लोकतन्त्र कानुनी राज्य, समावेशीलाई रास्वपाको महाधिवेशनले मन वचनले अगाडि लिएर जाने प्रण गर्ने आशा व्यक्त गरे। रास्वपाले पाएको यस्तै खालका जनमत अन्य दलहरूले पनि पाएको तर ती सबै दुर्घटनामा परेको बताउँदै उनले अहंकार र व्यक्तिहरूबिचको टकरावले ती दुर्घटनामा परेको भन्दै भने "शक्तीको सीमा हुन्छ भन्ने नेताहरूले नबुझ्दा जनमत दुर्घटनामा पर्यो। रास्वपाले यस्तो बेहोर्नु नपरोस् भनेर शुभकामना दिए।"
उनले जनमत दुर्घटनामा पर्दा त्यसको प्रभाव जनमत पाउने पार्टीले मात्रै नभोगी अन्य दल र नागरिकले समेत भोग्ने भन्दै रास्वपाले पाएको जनमत दुर्घटनामा नपरोस् भनेर शुभेच्छा व्यक्त गरे। प्रतिनिधि सभामा सवाल जवाफमा प्रधानमन्त्री नआउँदा प्रमुख प्रतिपक्षीको रूपमा प्रश्न उठाएको तर राष्ट्रिय सभामा रास्वपाको प्रतिनिधि नै नभए पनि सहजै सरकारको नीति तथा कार्यक्रम पारित गराएको भन्दै राम्रो काममा सहकार्य र प्रश्न गर्नुपर्ने ठाउँमा प्रश्न गर्ने बताए।
पार्टी गठनको चार वर्षमा पाएको उपलब्धि लोभलाग्दो छ। म यसको सम्मान गर्छु भन्दै उनले रास्वपाका कार्यकर्ताहरूलाई आफ्नै दलका नेताहरूमाथि पनि प्रश्न गर्न आग्रह गरे। उनले हिजोका दिनका दलहरूमा कोही बा बनेको त कोही के बनेको तर प्रश्न उठाउन ढिला भएको भन्दै उनले यही गल्ती रास्वपामा नदोहोर्याउन आग्रह गरे।
उनले अब ३५ वर्षमा केही भएन भनेर नभन्न आग्रह गर्दै हिजोको बलिदानकै कारण अहिले रास्वपाका कार्यकर्ताहरूले निलो झन्डा फहराउन पाएको भन्दै भने 'चितवनको जमिनमा हेर्नुहोला, बलिदानी दिने रातो झन्डाहरू त्यहाँ पनि छ।" विधि मिचेमा कांग्रेसले प्रश्न गरिरहने र सरकारको राम्रो काममा साथ र समर्थन हुने बताए।
असार ७, २०८३ आइतबार १७:३५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।