रास्वपा महाधिवेशनमा वर्षमान पुनको सुझाव - "राजनीतिमा बहुमतले विनम्रता र अल्पमतले धैर्यता सिक्नुपर्छ"

रास्वपा महाधिवेशनमा वर्षमान पुनको सुझाव -

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले राजनीतिमा संख्या र सरकार अस्थायी हुने भन्दै बहुमत आउँदा विनम्रता र अल्पमतमा पर्दा धैर्यता सिक्नुपर्ने बताएका छन्। 

चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले आफ्नो विगतको अनुभवबाट यो पाठ सिकेको उल्लेख गरे।

 "हिजो संख्या हामीसँग थियो, बिचमा अरूसँग भयो, आज यहाँहरूसँग छ। त्यसैले राजनीतिमा बहुमतले विनम्रता सिक्नुपर्छ र अल्पमतले धैर्यता। यो विगतको हाम्रो अनुभव हो। लोकतन्त्रमा संख्या र सरकार अस्थायी हुन्छन्।" 

रास्वपा र आफ्नो पार्टीको राजनीतिक यात्राको प्रकृति एकै प्रकारको रहेको भन्दै नेता पुनले भने, "तपाईँहरू र हाम्रा कयौँ विषयमा समानता छन्। हामी दुवै शक्तिले निरन्तरतालाई क्रमभंगता गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौँ।"

उनले  सुशासनको सवालमा दुई दलबीच वैचारिक र व्यवहारिक समानता रहेको समेत बताए।

"पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति परिवर्तन र समाज रूपान्तरणका एजेन्डामा हामी तपाईँहरूलाई नजिक पाउँछौँ," उनले भने, "हामीबीच सुशासनको एजेन्डामा पनि समानता छ। सुशासनको एजेन्डामा नेकपा र रास्वपाको जति निकट सहकार्य अरुको भएको छैन।"

राजनीतिक उतारचढाव र जनमतको प्रवृत्तिका बारेमा पुराना दलहरूको अनुभव बाँड्दै नेता पुनले दलहरू बलियो भए मात्र लोकतन्त्र सुदृढ हुने प्रस्ट पारे।

"दलहरु लोकतान्त्रिक प्रणालीका खम्बा हुन्। दलहरु सुदृढ भए मात्र लोकतन्त्र बलियो हुन्छ। लोकतन्त्रका शक्ति जनताले दिन्छन्। आवश्यक परे फिर्ता पनि लिन्छन्," उनले भने।

असार ७, २०८३ आइतबार १७:०८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।