वर्तमान संविधान त्रुटिपूर्ण र अपूरो छ, यसलाई संशोधन गरौं : उपेन्द्र यादव
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई विगतका विकृति र विसंगतिबाट मुक्त गर्दै नयाँ दिशातर्फ लैजाने अवसर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त भएको बताएका छन्।
आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाको महाधिवेशनले नेपाली राजनीतिमा नयाँ युगको थालनी गर्न सक्ने विश्वास व्यक्त गरे।
उनले भने, "अब मुलुकलाई विगतका विकृति–विसंगतिलाई त्यहीँ छाडेर नयाँ दिशामा लैजाने अवसर रास्वपालाई प्राप्त भएको छ। यो महाधिवेशन नयाँ युगको थालनीको महत्वपूर्ण आधार बन्न सक्छ भन्ने मलाई लागेको छ।"
अध्यक्ष यादवले संविधानसभामार्फत जारी भएको वर्तमान संविधानमा महत्वपूर्ण उपलब्धिहरू समेटिए पनि अझै अधुरो, अपूर्ण र त्रुटिपूर्ण पक्षहरू रहेको टिप्पणी गरे।
उनले संविधानभित्र नै केही विरोधाभासहरू रहेका छन्, जसलाई समयानुकूल सुधार गर्न आवश्यक रहेको बताए।
"संविधान सभाबाट संविधानको घोषणा गरियो। त्यो संविधान त्रुटिपूर्ण, अधुरो र अपूरो रहेको छ। विरोधाभास रहेको छ। निश्चित रुपमा महत्वपूर्ण आयाम पनि यसमा छन्। संघीयता, गणतन्त्र, समावेशीता, धर्म निरपेक्षताजस्ता महत्वपूर्ण पक्ष रहे पनि धेरै कुरा अधुरा र अपूर्ण रहेका छन्," यादवले भने, "आजको आवश्यकता संविधानलाई संशोधन गरी, परिमार्जन गरी विकृति र विसंगतिलाई हटाएर संशोधन गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी यहाँहरूमाझ आइपरेको छ।"
यादवले वर्तमान समयको आवश्यकता संविधान परिमार्जन र संशोधन रहेको उल्लेख गर्दै त्यसका लागि राजनीतिक दलहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए।
उनले लोकतन्त्रलाई थप सुदृढ, समावेशी र जनमुखी बनाउन संविधानका अपूर्ण पक्षहरूलाई सम्बोधन गर्दै मुलुकलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
असार ७, २०८३ आइतबार १६:४६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।