स्वर्णिमले भने “ बहुमतको सरकार भए पनि संविधान, कानुनको शासन र नागरिक स्वतन्त्रता चाहन्छौं”

स्वर्णिमले भने “ बहुमतको सरकार भए पनि संविधान, कानुनको शासन र नागरिक स्वतन्त्रता चाहन्छौं”
अर्काइभ तस्बिर।

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा केवल सरकार फेर्ने अभियान मात्र नभई राजनीतिक संस्कार परिवर्तनको आन्दोलन भएको बताए।

पार्टीको पहिलो महाधिवेशनमा बोल्दै उनले अब आक्रोशलाई आशामा, आलोचनालाई विकल्पमा र विद्रोहलाई निर्माणमा बदल्नुपर्ने बताए। उनले रास्वपा उदार लोकतन्त्रको पक्षमा रहेको भन्दै निर्वाचनले सरकार बनाउने, तर संविधान, कानुनको शासन र नागरिक स्वतन्त्रताले सत्तालाई मर्यादित राख्ने अनि बहुमतले शासन गरे पनि अल्पमतको पनि सम्मान हुने व्यवस्थाको पक्षमा रहेको बताए।

पार्टी स्थापनाको पृष्ठभूमिबारे चर्चा गर्दै डा. वाग्लेले भने, "जब इमानदार मानिसहरूले राजनीति असल मानिसका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, तब परिवर्तनको चाहना विद्रोहमा बदलियो। र, त्यो विद्रोहको लोकतान्त्रिक आवाज रास्वपा बनेको हो।" 

उनले अब रास्वपा आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण हुन लागेको उद्घोष समेत गरे। उनले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत प्रोत्साहन संरचना भएको तर्क गरेका थिए।

उनले आफूहरू पुरानो पुस्तासँग लड्न नभई नयाँ राजनीतिक संस्कार बसाल्न आएको र कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएको दाबी गरे। उनले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्य निर्माणको बाटो नै रास्वपाको मूल मार्गचित्र भएको बताए।

असार ७, २०८३ आइतबार १६:१५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।