रास्वपाको महाधिवेशनमा सहभागी हुन को-को नेता पुगे चितवन ?
भरतपुर : चितवनको भरतपुरमा आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू चितवन पुगेका छन्।
पार्टीको निमन्त्रणा स्वीकार गर्दै नेपाली कांग्रेसका सभापति गगन थापासहित विभिन्न दलका नेताहरू महाधिवेशनस्थल पुग्ने क्रम जारी छ।
रास्वपाको महाधिवेशनमा शुभकामना व्यक्त गर्न पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, एमाले नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन भरतपुर पुगिसकेका छन्।
यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत पनि कार्यक्रममा सहभागी हुन चितवन पुगेका छन्। महाधिवेशनमा सहभागी हुन् भरतपुर विमानस्थलमा ओर्लिइसकेका कांग्रेस सभापति थापा केहीबेरमा कार्यक्रम स्थलमा पुग्ने छन्।
महाधिवेशनको उद्घाटन सत्रमा आमन्त्रित अतिथिहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ। देशभरबाट आएका हजारौं प्रतिनिधि र कार्यकर्ताको उपस्थिति रहेको महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक कार्यदिशा र नीतिहरू तय गर्ने भनिएको छ।
असार ७, २०८३ आइतबार १४:२९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।