रास्वपाको महाधिवेशनस्थलमा कालो पोसाकधारी बाउन्सर खटाइयो
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको सुरक्षामा पर्याप्त सुरक्षाकर्मी परिचालित भए पनि पार्टीले आन्तरिक सुरक्षाका लागि बाउन्सर (निजी सुरक्षा गार्ड) परिचालित गरेको छ। महाधिवेशनस्थलमा आन्तरिक सुरक्षा व्यवस्था मिलाउन उसले कालो पोसाक लगाएका बाउन्सरहरु परिचालन गरेको हो।
कार्यक्रमस्थलहरुमा कालो पोसाक लगाएकाहरू खटिएका छन् जसको पछाडि बाउन्सर लेखिएको छ। वाकिटकीसहित खटिएका उनीहरूको पछाडि गढी लेखिएको छ। उनीहरू चितवनको निजी सुरक्षा गार्ड परिचालन गर्ने गढी सेक्युरिटीबाट खटिएका हुन्।
स्थापनाको ४ वर्षसम्म तदर्थ समितिमा चलिरहेको रास्वपाले पहिलो पटक पार्टीको महाधिवेशन गर्न लागेको हो। आइतबार सुरु हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।
असार ७, २०८३ आइतबार १२:३५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।