रास्वपाको महाधिवेशनमा कांग्रेसबाट सभापति गगन सहभागी हुँदै
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन्। रास्वपाले सबै प्रमुख दलका शीर्ष नेताहरूलाई आफ्नो पहिलो महाधिवेशनमा शुभेच्छा व्यक्त गर्न उद्घाटन सत्रमा निम्ता दिएको थियो।
पार्टीले उपसभापति पुष्पा भुसालबाट पार्टीको प्रतिनिधित्व गराउने तयारी गरेको थियो। तर अन्तिम समयमा आएर पार्टी सभापति थापा आफैँ सहभागी हुने भएका हुन्।
थापाका स्वकीय सचिव शंकर कुइँकेलले सभापति थापा रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन चितवन जाने जानकारी दिए।
अन्य दल एमालेले पार्टी अध्यक्षको सट्टा प्रदीप ज्ञवालीलाई पठाउने निर्णय गरेको छ भने नेपाली कम्युनिस्ट पार्टीबाट संयोजक पुष्पकमल दाहाल प्रचण्डको सट्टा वर्षमान पुन सहभागी हुँदैछन्। राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुँदैछन्।
अर्को राष्ट्रिय पार्टी श्रम संस्कृति पार्टीबाट को सहभागी हुनेछन् खुलेको छैन। आइतबार चितवनमा रास्वपाको पहिलो महाधिवेशन हुँदैछ। महाधिवेशन तीन दिनसम्म चल्नेछ। महाधिवेशनमा सहभागी हुन पार्टीका वरिष्ठ नेता तथा अध्यक्ष वालेन्द्र शाहसहितका नेता तथा प्रतिनिधिहरू चितवन पुगिसकेका छन्।
असार ७, २०८३ आइतबार १२:२३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।