रास्वपा महाधिवेशनमा कुन दलबाट को-को सहभागी हुँदैछन्?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो २ बजे प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह र सभापति रवि लामिछानेले संयुक्त रूपमा गर्ने कार्यक्रम छ।
महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शाह केहीबेरअघि बुद्ध एयरको जहाजबाट भरतपुर ओर्लिएका छन्। विमानस्थलबाट उनी सिधै कालिका नगरपालिकाको शक्तिखोरस्थित लटौली रिसोर्ट पुगेका छन् र त्यहाँ केही समय आराम गरेपछि उद्घाटन स्थल गेस्टहाउस चौर पुग्ने तालिका छ।
महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने निश्चित भएको छ। यसअघि उपसभापति जाने भनिए पनि अन्तिम समयमा सभापति थापा आफैँ सहभागी हुन लागेका हुन्। यस्तै, रास्वपाको महाधिवेशनमा सहभागी हुन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन चितवन पुगिसकेका छन्।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नेता वर्षमान पुन र एमालेबाट नेता प्रदीप ज्ञवाली सहभागी हुनेछन्। नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' स्वास्थ्य समस्याका कारण र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रधानमन्त्री शाहको अभिव्यक्तिमा रास्वपाले आफ्नो धारणा प्रष्ट नपारेकाले महाधिवेशनमा सहभागी नहुने जनाएका छन्।
गएराति परेको वर्षाका कारण भरतपुर महानगरपालिका-१ स्थित गेस्टहाउस चोकमा आयोजना हुन लागेको रास्वपाको महाधिवेशन स्थलमा पानी जमेपछि अहिले डोजर प्रयोग गरी माटो हालेर सम्म्याउने काम भइरहेको छ। असार ९ गतेसम्म चल्ने महाधिवेशनको बन्दसत्र भने चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन हुने रास्वपाले जनाएको छ।
असार ७, २०८३ आइतबार १२:२३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।