रास्वपाको महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री शाह चितवनमा
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह आइतबार चितवन आइपुगेका छन्। बुद्ध एयरको जहाजमार्फत परिवारसहित आएका शाह केहीबेरअघि भरतपुर विमानस्थलमा ओर्लिएका हुन्।
विमानस्थलबाट उनी सिधै कालिका नगरपालिकाको शक्तिखोरस्थित लटौली रिसोर्ट पुगेका छन्। रिसोर्टमा केही समय आराम गरेपछि उनी महाधिवेशन उद्घाटनका लागि भरतपुरस्थित गेस्टहाउस चौर पुग्ने कार्यक्रम रहेको बताइएको छ।
महाधिवेशनको उद्घाटन दिउँसो २ बजे प्रधानमन्त्री शाह र पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा गर्ने तालिका छ। गएराति परेको वर्षाका कारण भरतपुर महानगरपालिका-१ स्थित गेस्टहाउस चोकमा आयोजना हुन लागेको रास्वपाको महाधिवेशन स्थलमा पानी जमेपछि अहिले डोजर प्रयोग गरी माटो हालेर सम्म्याउने काम भइरहेको छ।
महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेता तथा विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहने रास्वपाले जनाएको छ। रास्वपाले महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि छनोट गरेको छ।
असार ७, २०८३ आइतबार ११:५८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।